लण्डन(संयुक्त अधिराज्य), ११ मंसिर । अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण यूकेले छ देशसँगको हवाई उडान निलम्बन गरेको छ।
यूकेका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने बताउनुभएको छ।
एक विज्ञले भनिएको B.1.1.529 उक्त भेरिअन्टलाई ूहामीले अहिलेसम्म देखेको सबैभन्दा खराबू भन्नुभएको छ र यो भेरिअन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई तोड्नसक्ने भन्दै चिन्ता व्यक्त भएका छन्।
सो भेरिअन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा मात्रै पुष्टि भएको छ।
यूकेले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडान स्थगित गरेको छ।
जावेदले वैज्ञानिकहरू नयाँ भेरिअन्टका कारण चिन्तित भएको बताउँदै यसबारे थप अध्ययन आवश्यक रहेको बताउनुभयो।
उहाँले नयाँ भेरिअन्टमा धेरै उत्परिवर्तन भएको र त्यो सङ्ख्या डेल्टा भेरिअन्टमा भन्दा दोबर हुनसक्ने बताउनुभयो।
उहाँले थप्नुभयो ‘र यसले के सङ्केत गर्छ भने यो भेरिअन्ट बढी सङ्क्रामक छ र अहिलेका खोपहरूको यसमाथि कमै असर हुनसक्छ।’
उहाँले ती छ देशहरूलाई रातो सूचीमा राख्नुको कारण ‘सावधानी र आफ्नो सीमाको सकेसम्म सुरक्षा गर्नु’ रहेको बताउनुभएकोछ।
नयाँ प्रतिबन्धात्मक नियम
शुक्रवार मध्याह्नदेखि विगत १० दिनभित्र ती देश भ्रमण गरेका विदेशी र आयरल्यान्डका नागरिकहरूलाई इङ्गल्यान्ड प्रवेश निषेध गरिएको छ।

परीक्षण
ती देशबाट आउने ब्रिटिश नागरिकहरू आइतवारदेखि होटेलमा क्वारन्टीनमा बस्नुपर्ने र त्यसअघि घरमै एकान्तवासमा बस्नुपर्ने बताइएको छ।
होटेल क्वारन्टीन प्रणाली स्थापित नभएसम्म ती देशसँग निलम्बित उडान नियमित नहुने बनाइएको छ।
नयाँ भेरिअन्ट कस्तो ?
दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रूपमा फैलिरहेको पत्ता लागेको हो।
पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।
विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रवार उनीहरूसँग भेट्दै छन्।
बीबीसी संवाददाता जेम्स ग्यालहरले अहिलेसम्म भएका भाइरसका उत्परिवर्तनमध्ये यो पछिल्लो उत्परिवर्तन सबैभन्दा अत्यधिक सङ्क्रामक भएको बताउनुभएको छ।
उहाँले भाइरसमा उत्परिवर्तन भएको सूची लामो भएका कारण एकजना वैज्ञानिकले यसलाई भयानक भनेर व्याख्या गरेको बताउनुभयो।
अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताउनुभएको छ।
नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन्।
हामीलाई के थाहा छ ?
यो भेरिअन्ट B.1.1.529 हो र यसलाई ग्रीक नाम अल्फा र डेल्टा भेरिअन्टजस्तै विश्व स्वास्थ्य सङ्गठनले कुनै कोड नाम दिने ठानिएको छ।
यो आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित पनि छ। दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टहरूभन्दा यो धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह देखिएको बताउनुभयो।
सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी स्पाइक प्रोटिनमा भएको बताउनुभयो।
धेरै खोपले स्पाइक प्रोटिन भनिने शरीरको कोषमा टाँसिने भाइरसलाई निसाना बनाएका हुन्छन्, त्यहाँबाट भाइरसले शरीरका कोषमा छिर्ने मार्ग बनाउँछ।
धेरै उत्परिवर्तनहरू खराब नै हुँदैनन्। ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो।
तर अहिलेको चिन्ता भनेको यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक छ।


















