काठमाडौं, ११ मंसिर । कोरोनाभाइरसको अत्यधिक उत्परिवर्तन क्षमताको ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीन राख्ने निर्णय गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै भेरिअन्ट अफ कन्सर्न घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन्।
नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारन्टीन अनिवार्य गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बताउनुभएको छ ।
“हामीले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारन्टीन पठाउँछौँ। पोजिटिभ आयो भने नमुनाहरूको सिक्वेन्सिङ पनि गर्छौँ “, नेपालको तयारीबारे पौडेलले भन्नुभयो।
नेपालले खोप नलगाई आउने यात्रुहरूलाई एक हप्ताको क्वारन्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वारन्टीन अनिवार्य गरेको छैन। विदेशबाट आउने यात्रुहरूलाई विमानस्थलमा एन्टिजन परीक्षण गर्ने गरिएको छ।
दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट हालसम्म हङकङ, बेल्जियम र इजरेलसहितका देशहरूमा फैलिएको पाइएको छ।
हङकङसँग सिधा हवाई उडान रहेको नेपालले उडान स्थगित गर्ने वा नगर्नेबारे आइतवार बस्ने कोभिड सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकबाट निर्णय गर्ने प्रवक्ता पौडेलले बताउनुभएको छ।
प्रधानमन्त्री कार्यालय अन्तर्गतको कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले आइतवारको बैठक नियमित भए पनि दक्षिण अफ्रिकामा देखिएको भेरिअन्टबारे छलफल हुने सम्भावना रहेको बताउनुभयो।
“यात्रा कार्यविधिलाई अहिलेको परिस्थिति अनुसार परिवर्तन गर्नुपर्ने विषय र नयाँ भेरिअन्टको एजेन्डाबारे पनि छलफल हुने सम्भावना छ”, उहाँले भन्नुभयो।
नेपालले के गर्नुपर्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
खोप लगाइसकेका मानिसहरूलाई समेत सङ्क्रमणको जोखिम भएको नयाँ भेरिअन्ट भित्रन नदिन विदेशबाट आउने यात्रुहरूलाई नेपालले अनिवार्य क्वारन्टीन र दोहोर्याएर पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
ूअहिले दक्षिण अफ्रिकामा बढी फैलिएको देखिए पनि यो अन्यत्र पनि फैलिएको हुनसक्ने सम्भावना छ। हामीले विदेशबाट आउनेलाई क्वारन्टीनको नियम सुरु गर्ने र आउने बित्तिकै र आएको पाँच(सात दिनभित्र दुई चोटि पीसीआर गर्ने जस्ता व्यवस्थापन गर्नुपर्छ,ू सङ्क्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले भन्नुभयो।
स्थल मार्ग हुँदै आउने सीमा नाकाहरूमा पनि विगतमा जस्तो समस्या दोहोरिन नदिन अहिलेबाटै परीक्षण र क्वारन्टीनको व्यवस्थापन गर्ने तयारी सुरु गर्नुपर्ने विशेषज्ञ सुवेदीको सुझाव छ।
नेपालमा स्वास्थ्यकर्मीको मनोबल बढाउन पनि उनीहरूलाई कोभिड विरुद्धको खोपको बुस्टर मात्राको अब आवश्यकता हुने उहाँले बताउनुभयो।
नयाँ भेरिअन्टको असर विरुद्ध तयारीका लागि नेपालसँग अझै समय रहेका कारण स्वास्थ्य मापदण्डका नियमहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विज्ञहरूले सुझाव दिएका छन्।
नयाँ भेरिअन्टको पहिचान नेपालमै
विगतमा कोरोनाभाइरसका उत्परिवर्तित भेरिअन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमुना पठाइने गरिए पनि अहिले नेपालमै भेरिअन्ट पहिचान गर्ने स्रोत साधन उपलब्ध रहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
ूअहिले नेपालमै सिक्वेन्सिङ सुरु भएको छ। विगतका वर्षहरूमा भन्दा स्वास्थ्य उपकरणहरू र सेवा विस्तार भएका कारण पनि यो लहरसँग जुध्नलाई हामीलाई अहिले केही सहज छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोना भाइरसको आनुवंशिक पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्।
उत्परिवर्तित भेरिअन्टको असरबारे वैज्ञानिक अनुसन्धानहरू भइरहेका छन्। यसको घातक क्षमताबारे र जोखिमबारे अझै पनि विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन्।
कुन देशले के गर्दै छन् ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
बीबीसीलाई प्राप्त विवरणहरू अनुसार कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्।
- युरोपियन सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले सोमवारबाट अधिकांश दक्षिण अफ्रिकी मुलुकहरूबाट हुने उडानहरूमा रोक लगाउने निर्णय गरिसकेका छन्। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटिटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ।
- अमेरिकाले पनि सोमवारबाट लागु हुने गरी दक्षिण अफ्रिकाका ७ देशबाट आउने आफ्ना नागरिक बाहेकका यात्रुलाई प्रतिबन्ध लगाएको छ।
- अस्ट्रेलियाले अफ्रिकी देशहरूसँगको उडान १४ दिनका लागि बन्द गरेको छ।
- जापानले अधिकांश दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई अनिवार्य १० दिन क्वारन्टीनमा राख्ने निर्णय गरेको छ।
- छिमेकी भारतले दक्षिण अफ्रिका र हङकङ सहितका देशहरूबाट आउने यात्रुहरूमाथि निगरानी बढाउन निर्देशन दिएको छ।
- इरानले ६ वटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ।
- ब्रजिलले पनि ६ वटा दक्षिण अफ्रिकी देशहरूबाट आफ्नो देशमा हुने यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ।
- क्यानडाले दक्षिण अफ्रिकी देशहरूमा विगत १४ दिनको अवधिमा यात्रा गरेका विदेशीहरूलाई प्रवेशमा रोक लगाएको छ।
- थाइल्यान्डले ८ वटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ।(बीबीसीबाट)


















