सौराहा, १३ मङ्सिर (रासस) । नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।
एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिनुभएका डा रावलले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको छ ।
यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपर्नुभएका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिनुभएको छ । यसबाहेक सबै पदमा यसअघि घोषणा भएबमोजिम उम्मेदवारी परिरहेको छ ।
बन्दसत्रमा घोषणा गरिएका पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुनुहुन्छ । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ । यसैगरी महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल रहनुभएको छ । उहाँहरु सबैले उम्मेदवारी निर्वाचनका लागि दिनुभएको छ ।
केन्द्रीय निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आधा घण्टा थप गरेर १० बजेसम्म पु¥याएको छ । यसअघि ८ बजेदेखि ९ः३० बजेसम्मको समय तोकिएको थियो । बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिनुभयो । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।
यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । दिँउसो १२ः०५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।
एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको थियो । उहाँले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गर्नुभएको हो । उहाँले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गर्नुभएको छ ।
प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश
नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गर्नुभयो । उहाँले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो । पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल हुनुहुन्छ । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य , सुरेन्द्र पाण्डे , रामबहादुर थापा ‘बादल’ , सुवास नेङ्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ । यसैगरी महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याललाई हुनुहुन्छ ।
विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया
नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो । पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।
बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिनुभयो । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।
यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।
एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो । अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गर्नुभएको छ । उहाँले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गर्नुभएको छ । उहाँले प्रस्ताव गर्नुभएका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए । यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
एमाले नेता भीम रावल र घनश्याम भुसाल निर्वाचनको पक्षमा हुनुहुन्छ । उहाँहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गर्नुभएको छ । एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था रहेको छ ।


















