Prakash Adhikari November 29, 2021

नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित हुनुभएको छ ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपसभापतिमा राजकुमार नकर्मी (१८२९) र गोकर्ण केसी (१९२२), सचिवमा इन्द्रबहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) र सहसचिवमा रोमेल श्रेष्ठ (१७७५) र प्रा डा अमिता प्रधान (२०६६) मत ल्याई निर्वाचित हुनुभएको छ ।

सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौँ कांग्रेस सभापति हुनुहुन्थ्यो । कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।

धादिङ कांग्रेसका सभापतिमा अधिकारी

नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ ।

कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उहाँले एक हजार ८२ मत प्राप्त गर्नुभएको थियो । दुई हजार २०० क्षेत्रीय प्रतिनिधि मतदाता रहेकामा दुई हजार १५६ ले मतदानमा भाग लिएका थिए ।

यसैगरी जिल्ला कार्यसमितिको उपपसभापतिद्वयमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी , सचिवद्वयमा विकास श्रेष्ठ र रामृष्ण पाण्डे, सह सचिवद्वयमा नवराज तिमल्सिना र विजयकुमार तामाङ निर्वाचित हुनुभएको छ ।

जिल्ला कार्यसमितिका सदस्यमा अश्विन लम्साल, बाबुकृष्ण सापकोटा, राम्री नेपाली, गोविन्द कुँवर र विष्णुबहादुर नेपाली निर्वाचित हुनुभएको छ । जिल्ला कार्यसमितिको अन्य सदस्यको मतगणना जारी छ । कांग्रेसको महासमिति सदस्यका लागि क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन, भीमप्रसाद ढुङ्गाना, रमेश धमला, रामनाथ अधिकारी, डा राजाराम कार्की, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी र राजन बुर्लाकोटी निर्वाचित हुनुभएको छ ।

यसैगरी क्षेत्र नम्बर १ को महासमिति सदस्यको निर्वाचन भएको छैन ।

Share Now

Leave a comment.