काठमाडौं, १८ मंसिर ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनमा मतदानमा कुल १ हजार ६ सय ३१ मत खसेको छ ।
लुम्बिनी प्रदेश अधिवेशनमा १ हजार ६४८ मतदाता रहेको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिनुभएको छ ।
शनिबार बिहान ११ बजेदेखि सुरु भएको मतदान साँझ करिव ६ सकिएको थियो ।
प्रदेशको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको समूहबाट भरतकुमार शाह र देउवा इतर समूहबाट अमरसिंह पुनको नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा उत्रिनुभएकोछ ।
सुदूरमा खस्यो १ हजार ३ मत
नेपाली काँग्रेसको पहिलो प्रदेश अधिवेशनअन्तर्गत सुदूरपश्चिममा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
निर्वाचन अधिकृत वीरबहादुर जेठाराका अनुसार मतदानमा १ हजार ३ जना सहभागी भएका छन् ।
बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ४ बजेर २० मिनेटमा सकिएको थियो ।
प्रदेश मतदानका लागि कूल १ हजार २३ जना प्रतिनिधि छनौट भएका थिए ।
सुदूरपश्चिममा पनि प्रदेश समितिको नेतृत्व लिन संस्थापन पक्षबाट बीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्र चुनावी मैदानमा प्यानलसहित उत्रिनु भएको थियो ।
कांग्रेस सुदूरपश्चिमको ५९ सदस्यीय प्रदेश कार्यसमितिका लागि १ सय ७७ जनाले उम्मेदवारी दिएका थिए ।
संस्थापन पक्षबाट प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह (मनु) र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामकी अम्बिका चलाउनेले उम्मेदवारी दिनुभएको छ ।
यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिनुभएको छ ।
निर्वाचनबाट एक सभापति, दुई जना उपसभापति, एक महिलासहित तीन जना महामन्त्री चयन हुने छन् । यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुलागरी तीन जना, मुस्लिमबाट एक जना, अपाङ्गता भएका एक जना चयन गर्ने छ ।


















