काठमाडौं, १८ मंसिर । नेपाली काँग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा १ हजार ७ सय ५३ मत खसेको छ ।
१४ औँ महाधिवेशन अन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि शनिबार दिउँसो मतदान भएको थियो ।
मतदानमा १ हजार ७ सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिनुभएको छ । प्रदेश १ मा १ हजार ८ सय ५ जना मतदाता थिए । मतगणना भने आइतबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
प्रदेश १ अधिवेशनमा संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा उम्मेदवार बनेका बन्नुभएको छ ।
शनिबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने कार्यसूची रहेपनि विवादका कारण साढे ६ घण्टा ढिलो दिउँसो साढे २ बजेबाट मतदान सुरु भएको थियो ।
कर्णालीमा खस्यो ७ सय ५४ मत
नेपाली काँग्रेस कर्णालीको प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । शनिबार साँझ सम्पन्न मतदानअनुसार कुल ७ सय ७१ मतदातामध्ये ७ सय ५४ मत खसेको छ ।
नेतृत्व चयनका लागि दिउँसो २ बजेपछि मतदान भएको थियो ।
कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिडेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही र विमलेन्द्र निधि पक्षबाट मोतिराज बम उम्मेदवार बन्नुभएको छ ।


















