Prakash Adhikari December 4, 2021

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश कार्यसमितिका लागि आज भएको निर्वाचनमा एक हजार १४६ मत खसेको छ ।

प्रदेश अधिवेशनका लागि कूल १  हजार १ सय ६५ मतदाता रहेकामा १ हजार १ सय ४६ मत खसेको र १९ जना अनुपस्थित भएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो । निर्वाचनमा सभापतिमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीबीच प्रतिस्पर्धा छ ।

त्यस्तै कार्यसमितिको उपसभापति दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले प्रतिस्पर्धा गर्नुभएको छ । महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने, सहमहामन्त्री एक जना महिलामा ओमकला गौतम र कोपिला रानाभाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचनको मतगणना पोखरास्थित उद्योग वाणिज्य सङ्घको हलमा सुरु भएको र आइतबार बिहानसम्म सबै पदको नतिजा आउने भुजेलले जानकारी दिनुभयो ।

बागमतीमा अपराह्न ४ बजेबाट मतदान सुरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनमा मतदान आज अपराह्न ४ बजे सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा तोकिएको भन्दा केही ढिलो मतदान सुरु भएको हो । सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले निर्वाचन सुरु भएको एक घण्टापछि मतदान गर्नुभएको छ ।

त्यस्तै सभापति पदका उम्मेदवार जगदीश्वरनरसिंह केसी र भीमसेन दास प्रधान पनि मतदानस्थलमा पुगिसक्नुभएको छ । उहाँहरूले केहीबेरमा मतदान गर्ने जनाइएको छ । मतदान चाँडै सम्पन्न गर्न १० वटा केन्द्रको स्थापना गरिएको छ । कम मतदाता भएका तीन जिल्लाका लागि एउटा, काठमाडौँका लागि तीन र अन्य जिल्लाका लागि एक÷एक मतदान केन्द्र स्थापना गरिएको हो ।

मतदानस्थल वरपर टाँसिएका उम्मेदवारका प्रचार सामग्री हटाइएको छ । अधिवेशनमा एक हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा दुई हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागि सहभागिता जनाउँदै छन् ।

Share Now

Leave a comment.