Prakash Adhikari December 11, 2021

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ।

पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।

उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय हुनेछ।

त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले आइतबार बिहान ११ बजेसम्म फिर्ता गरेपछि दिउँसो १२ः१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।

सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ।

कांग्रेसले यसपटकको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ। यसअघि शुक्रबार नै सुरु भएको बन्दसत्रमा तीन वटा प्रतिवेदन पेस गरिएका छन्।

भृकुटीमण्डपमा शुक्रबार उद्‍घाटन भएको महाधिवेशनको बन्दसत्र राष्ट्रिय सभा गृहमा चलिरहेको छ। महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी छन्।

कांग्रेसमा संस्थापन र संस्थापनइतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारीमा छन्। तर दुवै समूहले उम्मेदवारको टुंगो अझै लगाएका छैनन्।

संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवाले फेरि लड्ने निश्चित भए पनि अन्य पदाधिकारीबारे टुंगो लागेको छैन।

यस्तै नेपाली कांग्रेसको संस्थापन इतर समूहले पनि सभापतिको साझा उम्मेदवार छान्न सकेको छैन।

शुक्रबार महाधिवेशन उद्घाटन सकिएलगत्तै बत्तिसपुतलीमा साझा उम्मेदवार छान्न करिब चार घन्टा बैठक बसेको. थियो तर सहमति जुटेन । आज पनि उम्मेदवार छान्न छलफल गर्ने तयारी छ।

कूल मतदाता ४ हजार ७ सय ४३

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबार नै महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार कांग्रेसमा ४ हजार ७ सय ४३ मतदाता रहेका छन् ।

उहाँका अनुसार यो संख्या १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवशेन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट मनोनित र जनसम्पर्क समितिबाट चयन भएका प्रतिनिधिहरुको हो ।

१४ औं महाधिवेशनअन्तर्गत २२ मंसिरमा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको कांग्रेसले शुक्रबार अन्तिम नामावली प्रकाशित गरेको हो ।

केन्द्रीय सदस्य एवं देशभरबाट ४ हजार ४ सय २२ महाधिवेशन प्रतिनिधि चयन भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाबाट १ सय २५ महाधिवेशन प्रतिनिधि सिफारिस भएका छन् भने जनसम्पर्क समितिबाट १ सय ८४ जना महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ ।

Share Now

Leave a comment.