Prakash Adhikari December 14, 2021

 

काठमाडौं, २८ मंसिर। नेपाली कांग्रेसका १४ औं महाधिवेशनका सभापतिका उम्मेद्वार रहनुभएका कांग्रेस नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिनुभएको हो ।

पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’

‘नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं । देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे । देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ । नेता सिंहले भन्नुभएको छ ।

रामचन्द्रको सद्भाव लिन चियापानमा

नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिको चुनाव दोस्रो चरणमा जानेभएपछि पार्टीमा निश्क्रिय बन्न लाग्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गर्नुभएको चियापान कार्यक्रममा पनि सरिक हुनुभयो ।

उहाँले चिया पानमा रामचन्द्र पौडेलको प्रशंसा गर्दै भन्नुभयो ‘रामचन्द्रजीको यो पार्टीमा धेरै योगदान छ । उहाँले आयोजना गरेको चियापानमा सहभागी हुन पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु ।’

प्रधानमन्त्री देउवाले पौडेलले देशको लागि धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै रहेको बताउदै भन्नुभयो, तपाईं हामी सबैको नेता हो। भोलिका दिनमा तपाईंले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्ने छ ।’

चियापान समारोहमा देउवाले भन्नुभयो,एक भएर अगाडि बढौं । राष्ट्रलाई योगदान गर्न सकौं । लोकतन्त्रको रक्षा गर्न सकौं ।

Share Now

Leave a comment.