काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि शीर्ष दुईमा रहेका उम्मेद्वारबीच पुनः मतदान हुने भएको छ ।
मंगलबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुको भन्दा बढी मत पाउनुभयो र विधानले किटान गरे अनुरुप बहुमत(न्यूनतम् ५० प्रतिशतमाथि) मत ल्याउन सक्नुभएन । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।
सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २ हजार ३ सय ४० मत चाहिन्थ्यो ।
मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २ हजार २ सय ५८ मत मात्र पाउनुभयो । उहाँलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।
देउवालाई काठमाडौंको मतको भरोशा
सभापतिको निर्वाचन दोस्रो चरणमा गएपछि नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको मत आफ्नो पक्षमा आउने विश्वास गर्नुभएको ।
पहिलो चरणमा राजधानीबाट सभापतिमा गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह स्वयं उम्मेदवार भएकोले राजधानीको मत उहाँको पक्षमा परेको थियो ।
दोस्रो चरणमा उहाँ तेस्रो भएकोले रेसबाट बाहिरिनुभएको छ ।
उहाँ रेसबाट बाहिरिदा यसको लाभ देउवालाई हुने देखिएको छ ।
नेता प्रकाशमान सिंहको पकेट भोट नै आफ्नो पक्षमा ल्याउन प्रधानमन्त्री देउवाले प्रयास पनि थाल्नुभएको छ ।राष्ट्रिय सभागृहमा चलिरहेको मतगणना नसकिँदै गृहमन्त्री बालकृष्ण खाँण सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।
तेस्रो स्थानमा रहनुभएका सिंहले ३ सय ७१ मात्र मत पाउनुभएको छ भने चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २ सय ४९ मत पाएका पाउनुभएको छ ।
दोस्रो चरणमा मतदान हुँदा २ हजार २ सय ५८ मत ल्याउनुभएका देउवा र १ हजार ७ सय ४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।
देउवा समूह छाडेर सभापतिमा उम्मेदवारी दिएका निधिले देउवालाई समर्थन नगर्ने बाचा सार्वजनिक रुपमै गर्नुभएकोले देउवाले सिंहको साथ खोज्नुभएको हो।
त्यसो त रेसबाट बाहिरिएका नेताहरु एकातिर भएपनि उहाँहरुलाई मत दिने मतदाताले आफूले चाहेको उम्मेदवार रोज्न स्वतन्त्र हुन्छन र व्यक्तिगत मत तानेरै पनि सभापति जित्न देउवालाई निकै सजिलो हुने देखिएको छ ।


















