Prakash Adhikari December 18, 2021

सानेपा(ललितपुर), ३ पौष  । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आज १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मत गणनाका लागि उम्मेदवार वा एक जना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाई दिन पनि आग्रह गर्नुभएको छ ।

खुल्ला केन्द्रीय सदस्यको मत गनिसकेपछि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ । यसअघि सभापतिसहित १३ सदस्यीय पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रधान मन्त्रीसमेत रहेको शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभयो भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी हुनुभएको छ ।

त्यसैगरी काँग्रेस महामन्त्रीमा युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, भीष्मराज आङ्देम्बे, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी हुनुभएको छ ।

Share Now

Leave a comment.