काठमाडौं, ५ पौष । नेपालमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यले स्थापित क्रिकेट संघ एउटा अपरिपक्व र प्रतिशोधपूर्ण कारबाहीको घट्नाले विघटनको मार्गमा अगाडि बढ्दै गएको छ ।
संघले केहि दिन पहिले खेलाडी बर्गीकरण र सेन्ट्रल कन्ट्रयाक्टको विषयमा देखिएको कमजोरी सुधार्न व्यक्तिगत र सञ्चार माध्यमबाट उठाएको मागलाई प्रतिष्ठाको विषय बनाएर राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान, दीपेन्द्र सिंह ऐरी, चर्चित खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीमाथि गरेको कारबाहीले क्रिकेट खेलाडीबीच चरम असन्तुष्टि पैदा गरेको छ ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै क्रिकेट संघले गरेको कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको केन्द्रीय सम्झौताको वर्गीकरणको विषयलाई लिएर नेपाल क्रिकेट संघ र क्रिकेट खेलाडीबीचको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै खेलाडी संघले यो प्रकरणमा खेलाडीमाथि गरिएको कारबाहीले क्रिकेट विकासमा अवरोध ल्याउने बताएको छ ।
क्रिकेट खेलाडी संघ(सिप्यान)का अध्यक्ष डा मनिषराज पाण्डे तथा महासचिव पारस खड्काद्धारा हस्ताक्षरित सो विज्ञप्तिमा भनिएको छ, ‘क्रिकेट खेलाडीहरूको योगदानको फलस्वरूप आजको दिनमा नेपाली क्रिकेटले विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा सबैमा विदित नै छ। तथापि खेलाडीहरूले आफ्ना भावना तथा आवाजहरू अगाडि राख्न खोज्दा ती मागहरूको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरू माथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ ।
नेपाली क्रिकेटलाई डिभिजन ५ बाट ओडिआईसम्म पुर्याउन अथक परिश्रम गर्नुभएको पारस खड्कासहितको सो संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सिप्यानबाट गत वर्ष पनि क्यान तथा राष्ट्रिय खेलकुद परिषदलाई क्रिकेट खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुमा वर्गीकरण सम्बन्धी दिइएको सुझाव आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ। वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटीरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता पुनः दोहोर्याउन जरुरी देखिन्छ।
खेलाडी संघका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, तसर्थ क्यान र खेलाडीहरूको बीचमा रहेको यस विषयसँग सम्बन्धित तिक्तता मेटाई खेलाडीहरूको मनोबल उच्च बनाई राख्न र समग्रमा नेपाली क्रिकेटको भलो हुने कदम उठाउनु पर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ।’
क्यानको बुधबार बसेको बोर्ड बैठकले खेलाडी वर्गीकरणको विषयमा मिडियामा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्ताबाट हटाएको थियो। साथै ज्ञानेन्द्र र दीपेन्द्रसहित अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई सन् २०२२ को पहिलो ६ महिना वर्गीकरणबाट पाउने रकम नदिने निर्णय गरेको थियो।
नेपाल क्रिकेट संघको सो निर्णयप्रति सत्तारुढ दलका शीर्ष नेता पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रतिशोधपूर्ण कारबाही फिर्ता लिन आग्रह गर्नुभएको छ ।
खेलकूद मन्त्रीले पनि प्रतिशोधपूर्ण निर्णय सच्याउन सार्वजनिक रुपमा नै क्रिकेट संघसमक्ष अनुरोध गर्नुभएको छ ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेसको बैतडी जिल्ला सभापतिमा निर्वाचित हुनुभएकोले उहाँले क्रिकेटको विकासमा ध्यान दिन नसक्ने अवस्था छ भने उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले गत असोज महिनामा नै पदबाट राजिनामा दिइसक्नुभएको छ ।
क्रिकेट संघका जिम्मेवार पदाधिकारीहरु नरहेको अवस्थामा संघका सदस्य मात्रै रहनुभएका प्रशान्तविक्रम मल्लको बलमिच्याईमा संघले प्रतिशोधपूर्ण रुपमा कारबाहीको निर्णय लिएको देखिन्छ ।
कारबाहीका विरुद्धमा क्रिकेट खेलाडी र खेलप्रेमीहरुबीच बढ्दै गएको असन्तुष्टिले कारबाही गर्ने मुख्य व्यक्ति प्रशान्तविक्रम मल्लमाथि नै छानवीन हुन सक्ने र संघ यो निर्णयलाई सच्याउन तयार नभए संघ विघटन हुनसक्ने अवस्था पनि सिर्जना हुन सक्ने देखिन्छ ।


















