काठमाडौं, ५पौष । हिमालयन बैंकको सञ्चालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ।
हिमालयन बैंकको आइतबार साँझ भएको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। निर्णय सर्वसम्मतिले भएको बताइएको छ।
अब बैंकले यसै हप्ताभित्र २१ दिनको समय राखेर साधारणसभा डाक्ने छ। साधारणसभाबाट मर्जरको निर्णय पारित भएपछि दुवै बैंक औपचारिक रुपमा एकीकृत हुनेछन्। त्यसपछि एकीकृत कारोबारको मिति तोकिने छ।
राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि लगभग टुंगोमा पुग्न लागेको मर्जर प्रक्रिया हिमालयन बैंक सञ्चालक समितिको अध्यक्षमा प्रचण्डमान श्रेष्ठ आएपछि बिलम्बित भएको थियो।
नयाँ अध्यक्षले सबै विषय पुनरावलोकन गरेपछि मर्जर प्रकृयामा विलम्ब भएर र राष्ट्र बैंकले दुई पटक समय थप गरेको थियो।
हिमालयन बैंकको मंसिर १० गतेको सञ्चालक समिति बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको थियो तर अध्यक्षश्रेष्ठले प्रमुख कार्यकारीसंग थप विषयमा स्पष्ट हुन खोजेपछि झन विलम्ब भयो।
दुई बैंकको मर्जरमा अध्यक्षमा इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहने र प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा रहने सहमति भएकोले बैंक राणा पाँडे घरनाको कब्जामा जाने भयो भन्दै हिमालयन बैंकका मनोजबहादुर श्रेष्ठ र प्रचण्ड श्रेष्ठले आफूहरुको सुरक्षण खोजेका थिए । तर त्यसले मर्जरमा ढिलाइ निम्त्याएपछि राष्ट्र बैंकले हिमालयन बैंकको नगद लाभांश नै रोकिदिएको थियो।
उसले एकीकृत कारोबार भएको दिन साबिकको हिमालयन बैंकका सेयरधनीले लाभांंश पाउने सर्त राखिदिएको थियो। यो सर्तविरुद्ध श्रेष्ठ समूहका तर्फबाट एक सेयरधनीले उच्च अदालत पाटनमा मुद्दा हालेपनि अदालतले अन्तरिम आदेश दिएन । राष्ट्र बैंकको सर्त नै कार्यान्वयन गर्ने बाटो खुल्यो।
दुवै बैंकको एकीकरण बराबरी हैसियतमा हुने र नाम हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक राखिने बताइएको छ।
कर्मचारी समायोजनका विधिहरु मिलिसकेको छ। हिमालयन बैंकभन्दा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब सुविधा कम छ। उनीहरुको आगामी चार वर्षभित्र समायोजन हुने गरी मिलाइएको छ। सफ्टवेयर हिमालयन बैंककै प्रयोग हुने छ।
दुबै बैंकबीच गत वैशाख ३० गते मर्जरमा जाने सहमति भएको थियो।
इन्भेष्टमेन्ट बैंकले साधारणसभा सम्पन्न गरिसकेको छ। हिमालयन बैंकले बिलम्ब गरेकोले उसले साधारणसभामा मर्जरको एजेण्डा राखेको थिएन। अब उसले मर्जरको निर्णय लिन विशेष साधारणसभा डाक्नुपर्ने हुन्छ।


















