Prakash Adhikari December 22, 2021

जनकपुरधाम(धनुषा), ७ पौष । नेपाली कांग्रेस प्रदेश नम्बर २ मा आज प्रदेश अधिवेशनअन्तर्गत मतदान हुने भएको छ। दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।

प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तथा विमलेन्द्र निधिको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ।

केन्द्रमा सभापति पदमा देउवालाई दोस्रो चरणमा समर्थन गर्नुभएका नेता विमलेन्द्र निधिले प्रदेश २ मा भने कोइरालासँग समीकरण गर्नुभएके छ ।

देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गर्नुभएको छ भने कोइराला(निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दिनुभएको छ ।

रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दिनुभएको छ भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले । यस्तै सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिनुभएको छ।

कृष्णाको प्यानलबाट उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादवले उम्मेदवारी दिनुभएको छ भने महामन्त्रीमा उपेन्द्र यादव र वृहसपति कुमार श्रेष्ठले ।

सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरीले उम्मेदवारी दिनुभएको छ । रीता यादवले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिनुभएको छ।

२ नंबर प्रदेश अधिवेशनमा करिब २ हजार मतदाता छन्।

प्रदेश अधिवेशनका लागि देउवा र कोइराला पक्षका केन्द्रीय नेता तथा निधिसहित नेताहरू जनकपुरधाममा डेरा जमाएर बस्नुभएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण देउवा पक्षका कृष्णा यादवको समूहलाई बिजयी गराउन विगत तीन दिनदेखि जनकपुरमा हुनुहुन्छ । लुम्बिनी प्रदेशमा देउवा समूहका भरतकुमार शाहलाई जिताउन नसकेको आरोप खेप्नुभएका गृहमन्त्री खाँणले जनकपुरमा के गर्नुहुन्छ ? यसै भन्न सकिन्न । बुद्धभूमिको युद्ध हराउनुभएका गृहमन्त्रीले जानकीको जन्मभूमिमा कस्तो प्रभाव छाडेर आउनुहुन्छ प्रतीक्षाको विषय भएको छ ।

Share Now

Leave a comment.