काठमाडौं,२२ फागुन,। संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
मंगलबार विहान काठमाडौंमा बसेको फोरम पदाधिकारीहरुको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
नेताहरुका अनुसार आजै वाम गठबन्धन र फोरमबीच सहमति गर्ने तयारी छ ।
एमाले र माओवादीले सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
वाम गठबन्धन र फोरमबीच मान्त्रलय भागवण्डामा कुरा मिल्न बाँकी थियो । गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।
राजपा लचक
सरकारमा सहभागी बन्नका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरसंग एक्काएक्लै कुरा गरेपछि राजपा पनि सरकारमा जान लचिलो भएको एमालेको दावी छ ।
मधेशवादी राजनीतिक दलहरुमा केन्द्रमा पनि मधेशको पक्षमा काम गर्ने र आफ्नो वर्चश्व रहेको प्रदेश नं २ मा पनि मधेशका मुद्दाहरुलाई संबोधन गर्ने रणनीति अख्तियार गर्ने दाऊमा रहेको देखिन्छ ।
एमाले र माओवादी गठबन्धन एकतामा परिणत हुने अवस्था रहेकोले एमाले बाहेकको सरकार निकट भविष्यमा बन्ने संभावना क्षिण हुदै गएको देखिन्छ ।
सरकार बाहिर रहेर भन्दा सरकारमा बसेर देश र जनताको सेवा गर्ने अवसर बढी पाइने भएकोले फोरम र राजपा दुवै सरकारमा जान राजी भएका हुन् ।
प्रधानमन्त्री ओलीले राजपा कार्ड फाल्नासाथ संघीय समाजवादी फोरमलाई दवाव परेको देखिएको छ भने फोरम कार्ड तेस्र्याउनासाथ माओवादी केन्द्र दवावमा देखिएको छ । एकका विरुद्ध अर्कालाई उभ्याएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले माओवादी, संघीय समाजवादी फोरमा र राजपा सबैलाई साइजमा राख्ने रणनीति लिएको देखिन्छ ।