काठमाडौं, १२ पौष । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ ।
आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर आयोजनामा कार्यरत दुई जनाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभएको छ ।
घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो ।
परीक्षणका क्रममा पेनस्टक पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुट्टिदा सो घटना भएको हो ।
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप पड्किएर बेहोस भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न सकिएन ।
‘हेलिकोप्टर बोलएपनि खराब मौसमले जान नसकेपछि ओखढुंगाको मिसन अस्पतालमा लगिएको थियो, तर, उहाँहरुलाई अस्पतालले मृत घोषित गर्यो,’ राईले भन्नुभयो ।
घटनामा घाइते हुनुभएका अर्का इञ्जिनियर मोहम्मद जावी अख्तर रहिमलाई उपचारका लागी काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको छ ।


















