काठमाडौं, १२ पौष । बिदा मनाउने क्रममा रहेका यात्रुहरुमा ओमिक्रोन भेरियन्टको कोभिड-१९ संक्रमण त्रास र यसको जोखिमका सम्बन्धमा अनिश्चय हुँदा खरिद गरेका हवाई टिकटहरु रद्द गर्ने क्रम अत्याधिक हुँदा विश्वका कयौं वायुसेवा कम्पनीहरुका कुल साढे चार हजार भन्दा धेरै उडान खारेज भएको बताइएको छ।
क्रिशमस इभको दिन अर्थात गत शुक्रबार मात्र वायुसेवा कम्पनीहरुले विश्वव्यापी रुपमा २४०१ उडानहरु रद्द गरेका थिए
क्रिशमसको सिजनमा सबैभन्दा धेरै माग तथा उडान क्रिशमस इभको दिन हुनेगर्छ। तर यसपालि ओमिक्रोन त्रासकै कारण क्रिशमस बिदा मनाउने मुडमा भएकाहरुले समेत उतिसाह्रो उत्साहित नहुँदा इभकै दिन (शुक्रबार) विश्वव्यापी रुपमा २४०१ उडानहरु रद्द भएको रोयटर्सले जनाएको छ।
फ्लाइट ट्र्याकिङ एप ‘फ्लाइटवेयर डटकम’ का अनुसार उक्त दिन झन्डै १० हजार अन्तरराष्ट्रिय उडानहरु डिले भएका थिए।
उक्त वेबसाइटका अनुसार क्रिशमसका दिन (गत शनिबार) पनि विश्वभर कुल १७७९ उडान रद्द भएका थिए। साथै, आइतबार पनि सेड्युल गरिएका ४०२ उडान रोकिए।
क्रिशमस सप्तान्तको पछिल्लो एक सातामा विश्वभर रद्द भएका कुल यात्रुबाहक व्यवसायिक हवाई उडानमध्ये एक चौथाई अमेरिकी वायुसेवा कम्पनीहरुको वा अमेरिका भित्रिने तथा बाहिरिने वायुसेवाका उडानहरु रहेका छन्।
अमेरिकामा पछिल्लो समय ओमिक्रोन भेरियन्टको कोरोना संक्रमण तीव्र बनेकाले पनि क्रिशमसले सिर्जना गरेको अतिरिक्त बिजनेश धेरै गुमाउनेमा अमेरिका केन्द्रित वा अमेरिकी गन्तव्यहरुमा उडान भर्ने वायुसेवाहरु रहेको जनाइएको छ। रोयटर्सका अनुसार, अमेरिकामा नयाँ कोरोना भाइरसको केस ४५ प्रतिशतले बढेर दैनिक एक लाख ७९ हजार पुगेको छ। न्युयोर्कमा मात्र क्रिशमस इभ (गत शुक्रबार) को दिन नयाँ संक्रमितको संख्या ४४ हजार जना थियो।


















