Prakash Adhikari December 28, 2021

 

काठमाडौं, १३ पौष । नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुग्नुभएको छ ।

नेपाल क्रिकेट संघबाट नियुक्त मुख्य प्रशिक्षक दासानायकको यो दोस्रो नियुक्ति हो। उहाँले यस अघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराउनुभएको थियो।

दासानायकलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गर्नुभएको थियो ।

क्रिकेट संघको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रूपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाउनुभएको हो ।

मंगलबार विमानस्थल ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै नेपाली क्रिकेट नयाँ उचाइमा पुर्‍याउने जिम्मेवार थपिएको बताउनुभयो ।

प्रशिक्षक दासानायकले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबै जसो देशमा हुने गरेको र नेपालको समस्या सामान्य भएको भन्दै बन्द कोठाभित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षक दासानायकेले यस अघि सन २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसक्नुभएको छ । उहाँकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

सोही हिसाबले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षकको रूपमा लिइन्छ ।

पूर्व मुख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको थियो । त्यसपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकको रूपमा नियुक्त गरेको हो ।

Share Now

Leave a comment.