Prakash Adhikari December 28, 2021

काठमाडौं, १३ पौष । नेपालका सन्तोष शाह बीबीसीको ‘यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१’ का विजेता बन्नुभएको छ।

प्रतिस्पर्धामा आफूले पस्केका तराई, हिमाल र पहाडका विविध नेपाली परिकारलाई निर्णायक मण्डलका सदस्यले निकै मन पराएको शाहले बताउनुभयो।

“मलाई एकदमै गर्व महसुस भइरहेको छ, नेपाली खानालाई हेला गर्ने र आफैँमाथि विश्वास नहुनेहरूलाई एउटा ठूलो सन्देश दिन पाएकोमा मलाई एकदमै खुशी लागिरहेको छ”, साहले बीबीसीसँग भन्नुभएको छ।

सामाजिक सञ्जालमा अहिले नेपालीदेखि विदेशीसम्मले उहाँलाई बधाई दिइरहेका छन्।

यसअघि यूके मास्टरशेफमा उपविजेता भएका शाह ठूलो अपेक्षाको भारी बोकेर रिम्याचमा गएको बताउनुहुन्छ।

“रिम्याचमा जाँदा नै धेरै ठूलो दबाव थियो। किनभने नेपाली दिदीबहिनी तथा दाजुभाइबाट एक प्रकारको नाम र ख्याति पहिल्यै प्राप्त भइसकेको थियो, अहिले म हारेको भए एकदमै नराम्रो लाग्थ्यो”, साहले थप्नुभयो।

यसपालि के गरे ? 

यूके मास्टरशेफमा उपविजेता भएको केही समयपछि नेपाल आएर शाहले थप नेपाली परिकारहरूबारे अध्ययन गरेर पकाउन पनि सिक्नुभएको थियो।

“नेपालमा धेरै राम्राराम्रा परिकार छन्। तीमध्ये केहीलाई छनौट गरी तराईमा बनाइने अदौरी, तिलौरीदेखि राई-लिम्बु समुदायले कुखुराको पखेटा पोलेर बनाउने तीते लगायतका परिकार यसपालि मैले देखाएँ। यही चिजले मलाई जित दिलाएका छन्।”

प्रतिस्पर्धामा यसपालि आफूले पस्केका हरेक परिकारलाई निर्णायकहरूले निकै मन पराएको उहाँ बताउनुहुन्छ।

“जजहरूले यो राम्रो भएन अथवा यो अझ राम्रो हुनसक्थ्यो भनेर कुनै टिप्पणी पनि गरेनन्”, साहले थप्नुभयो।

यसपालि सन्तोषले म्यारिनेटेड चिकेन ब्रेस्ट, तामाको अचार, कुखुराको मासुको झोल, कोदोको पुलाव, मालपुवा र भुइँकटहरको राबडी लगायत परिकार बनाएर खुवाउनुभएको थियो।

त्यसैगरी सुपको आइसक्रीमका साथै तरुल, काउली, भन्टा, आलु लगायतका सात प्रकारका तरुवा बनाएर खुवाएको उहाँले बताउनुभयो।

अघिल्लोभन्दा फरक
अघिल्लो प्रतिस्पर्धाभन्दा रिम्याच झन् चुनौतीपूर्ण भएको साहको कथन छ।

“त्यसमा त एउटा राउन्डमा गरेको भुल सुधारेर अर्कोमा अझ राम्रो गर्न सकिन्छ। तर रिम्याचमा जे एक पटक गर्नुहुन्छ त्यो नै अन्तिम मौका हुन्छ”, उहाँले भन्नुभयो।

अघिल्लो प्रतिस्पर्धामा सन्तोष शाहले बनाएको योमरी

अघिल्लो प्रतिस्पर्धामा सन्तोष शाहले बनाएको योमरी

अझ रिम्याचमा पहिलाका उपविजेताहरू पनि खारिएर आउनले भएकोले चुनौती थपिएको उहाँको बुझाइ छ।

‘पहिल्यै एउटा उचाइमा पुगिसकेका प्रतिस्पर्धी हुन्छन्। तपाईँमाथि राम्रो गर्नका लागि उच्च दबाव हुन्छ।”

निर्णायकको प्रतिक्रियाबाट उत्साहित

प्रतिस्पर्धामा निर्णायकहरूको प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको उहाँले बीबीसीसँग बताउनुभयो।

निर्णायकमध्ये एक मोनिका गालेटीले सन्तोष साहले पाएका हरेक परिकार खाँदा उनीसँगै आफूले नेपालको यात्रा गरिरहेको जस्तो महसुस गरेको बताउनुभयो।

साह नेपाल जाने बेला आफू पनि सँगै जाने इच्छा पनि उहाँले जाहेर गर्नुभएको थियो।

“त्यो प्रतिक्रिया सुनेर मेरो जीउभरि नै काँडा उम्रिए जस्तो भयो। उहाँ धेरै ठूलो र सम्मानित शेफ हो”,सन्तोषले भन्नुभयो।

नेपाल आउन इच्छुक शेफ मोनिकालाई सरकारी अधिकारीहरूले निम्त्याएर नेपाली खानेकुरा तथा पर्यटन प्रवर्द्धनमा फाइदा लिनसक्ने उहाँ बताउँनुहुन्छ।

पाककलाका विद्यार्थीका लागि सन्देश

पाककलाका विद्यार्थीहरूलाई सिक्न नछोड्न उहाँको आग्रह छ।

“हरेक समय तपाईँहरू सिक्ने कोशिश गर्नूस्। राम्रो गर्ने प्रयास गर्नूस्। ढिलो वा चाँडो तपाईँले अवश्य सफलता पाउनुहुनेछ, हार मान्नु हुँदैन”, उहाँको सुझाव छ।

यसअघि प्रतिस्पर्धामा उपविजेता बन्नुभएका साहले आफू निराश नभएको बताउनुभएको थियो।

उपाधि नजिते पनि थुप्रै मानिसको मन जित्न सफल भएको उहाँको त्यति बेला प्रतिक्रिया थियो।

अब बिहे
सन्तोष साहकी आमाले आफ्नो छोराको बिहे हेर्न चाहेको बताउँदै आउनुभएको छ।

यो वर्ष तपाईँको किताब पनि आयो, रिम्याचमा पनि जित्नुभयो। अब त बिहे गर्ने होला नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो “आमाको माया भनेको यस्तै हो। आमालाई खुशी पार्नैछ।”

भनेपछि अब बिहे गर्नुहुन्छ भन्ने अर्को प्रश्नमा साहको जबाफ थियोः “अब सोच्नुपर्छ, त्यसबारे विचार गर्नुपर्छ।”

अहिलेसम्म केटी हेरिनसकेको बताउदै सन्तोषले थप्नुभयो ,”तर कुरा मिल्यो भने बिहा गरिन्छ होला।”

 

Share Now

Leave a comment.