काठमाडौं, १६ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन बिहीबारको बन्दसत्र हलबाट पारित भएको छ ।
राजनीतिक प्रतिवेदन एकमतले पारित भएको पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सुरेश रेग्मीले जानकारी दिनुभएको हो । विधान र राजनीतिक प्रतिवेदन पारित भएसँगै आजको बन्दसत्रको कार्यक्रम सकिने पनि उहाँले बताउनुभएको छ ।
पार्टी अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत राजनीतिक दस्तावेजमा २५ समूहबाट मौखिक र लिखितरुपमा सुझाव पेश भएको थियो । जसमा ज्येष्ठ कम्युनिष्ट मञ्चको समन्वयको जिम्मेवारी एनके प्रसाई, सल्लाहकारहरुको नन्दकुमार थापा, बागमती प्रदेशका प्रतिनिधिहरुको सरल सहयात्री, आयोगका सदस्यहरुको विष्णुपुकार श्रेष्ठ, जनवर्गिय संगठन, मोर्चाका इन्चार्ज, अध्यक्ष प्रसितनिधिहरु, केन्द्रीय कार्यालय र एकताबाट आएका प्रतिनिधिहरुको समन्वयको जिम्मा अमृता थापा मगरलाई तोकिएको थियो ।
साथै प्रदेश १ को हर्क नेम्वाङ, प्रदेश २ को गणेश शाह, लुम्बिनी प्रदेशका प्रतिनिधिहरुको चक्रपाणी खनाल, गण्डकी प्रदेशको गायत्री गुरुङ, प्रवास समितीको लक्ष्मण पन्त, कर्णाली प्रदेशका प्रतिनिधिहरुको विमला केसी, सुदूरपश्चिमको खगराज भट्ट, सम्पूर्ण विभागका प्रतिनिधिहरुको मायाप्रसाद शर्मा, उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरुको जगत सिंखडा, सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरुको जिम्मा कृष्ण अधिकारीलाई तोकिएको थियो ।
संशोधित विधान शनिवार पारित हुने
नेकपा माओवादी केन्द्रको संशोधित विधान शनिवार पारित हुने अवस्था छ । विधान संशोधन भएपछि मात्रै त्यसमा उल्लेखित प्रावधान अनुसारको केन्द्रीय समितिको निर्वाचन हुने छ ।
संशोधित विधानलाई अन्तिमा रुप दिन माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा आजको बन्दसत्र सकिएलगत्तै स्थायी कमिटी बैठक बसेको हो ।
महाधिवेशनमा विधान संशोधनबारे आएका सुझावहरूलाई समेत कसरी समेट्न सकिन्छ भनेर स्थायी कमिटीमा छलफल हुन्छ र भोलिको बन्दसत्रमा जवाफसहित विधान संशोधन प्रस्तावका लागि पेश हुने बताइएको छ ।
माओवादीले १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ । तर महाधिवेशनमा कतिपयले उक्त प्रस्तावमाथि प्रश्न गर्दै पार्टी कमिटीहरु चुस्त दुरुस्त बनाउन संख्या घटाउनुपर्ने सुझाव दिएका छन् ।
त्यसैगरी क्लस्टरवाइज केन्द्रीय कमिटीमा प्रतिनिधित्वको माग समेत उठेको छ ।


















