काठमाडौं, १७ पौष। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले पार्टीको संशोधनका लागि प्रस्तुत विधान पारित गरेको छ ।
महाधिवेशन अगाडिको अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको मस्यौदा विधान केही परिमार्जनसहित महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो ।
अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् ।
विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।
विधानमा पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ । यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ । यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो ।
संशोधित विधानमा केही परिमार्जन गरी प्रतिनिधिको सुझाव अनुसार राष्ट्रिय परिषद्को पनि व्यवस्था गरिएको छ । यस्तै, केन्द्रमा जस्तै प्रदेशअन्तर्गत पनि गैरभौगोलिक विशेष कमिटी निर्माण गर्न सकिने व्यवस्था गरिएको छ । अब आवश्यकता अनुसार महाशाखा, शाखा गठन हुनेछन् ।
विधान पारित भएलगत्तै बन्दसत्रस्थल प्रज्ञाप्रतिष्ठानमै स्थायी कमिटी बैठक जारी छ । बैठकमा सर्वसम्मति जुटाउने र निर्वाचन प्रक्रियाबाट निर्विरोध निर्वाचित गराउने प्रयास भएको बुझिएको छ ।


















