Prakash Adhikari January 1, 2022

 

श्रीनगर(जम्मु-कश्मीर, भारत), १७ पौष(बीबीसी) । भारतको जम्मूकश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा भएको भागदौडमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। नयाँवर्षको दिन ठूलो सङ्ख्यामा मानिसहरू मन्दिरमा दर्शन गर्न गएका थिए।

उक्त घटनामा २० जना घाइते भएको बताइएको छ।

त्रिकुटा पहाडमा अवस्थित मन्दिरको गर्भगृहबाहिर विवाद भएपछि भागदौड भएको थियो।

मन्दिरमा प्रत्येक दिन दशौँ हजार मानिस जान्छन्।

घटनाबारे के भन्छ प्रहरी

जम्मू(कश्मीरका प्रहरी प्रमुख दिलबाग सिंहले समाचार संस्था एएनआईलाई बताएअनुसार विवादका कारण मानिसहरूले एकअर्कालाई धकेल्न थालेपछि भागदौडको अवस्था सिर्जना भएको थियो।

बिहान २ः ४५ बजे भएको घटनामा १२ जनाको ज्यान गएको उहाँले पुष्टि गर्नुभयो ।

वैष्णोदेवी

वैष्णोदेवी

“वैष्णोदेवी माताको मन्दिरमा भएको भागदौडमा मृत्यु हुनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू-कश्मीरका नागरिक छन्”, घटना भएको स्थान कटराको सामुदायिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. गोपाल दत्तले एएनआईलाई बताउनुभएको छ , “थप जानकारी आउन बाँकी छ, घाइतेहरूलाई उद्धार गरी नरैना अस्पताल लगिएको छ।”

घटना भएको केही समयपछि फेरि दर्शनार्थीलाई मन्दिरभित्र जान दिइएको थियो।

छानबिन समिति गठन
प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाबाट आफू दुःखित भएको भन्दै शोक व्यक्त गर्नुभएको छ ।

जम्मू(कश्मीरका उपराज्यपाल मनोज सिन्हाले सामाजिक सञ्जाल ट्विटरमा घटनाप्रति दुखस् व्यक्त गर्दै मृतकप्रति समवेदना र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।

सिन्हाको कार्यालयले पनि ट्विटरमार्फत् घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराइएको र प्रधानमन्त्रीबाट पूर्ण सहयोगको आश्वासन प्राप्त भएको जनाएको छ।

उपराज्यपाल सिन्हाले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ र घाइतेलाई दुई लाख सहयोग गर्ने बताउनुभएको छ। उनीहरूको उपचार खर्च पनि मन्दिर सञ्चालक समितिले बेहोर्ने भएको छ।

सिन्हाले घटनाको उच्चस्तरीय छानबिनका लागि गृह मन्त्रालयका प्रमुख सचिवको नेतृत्वमा प्रहरी उच्च अधिकारी सम्मिलित छानबिन समिति बनाइने बताउनुभएको छ।

के भन्छन् प्रत्यक्षदर्शी ?

घाइतेको उद्धार गरिँदै

घाइतेको उद्धार गरिँदै

जम्मूस्थित बीबीसीका सहयोगी पत्रकार मोहित कन्धारीका अनुसार गाजियावादमा बस्ने एक जना श्रद्धालुले रातको करिब १ बजे अनियन्त्रित भीडका कारण घटना भएको बताउनुभएको छ।

“अधिकारीहरूलाई मन्दिरमा अत्यधिक भिड भइरहेको थाहा हुँदाहुँदै पनि उनीहरूले मानिसहरूलाई किन रोकेनन्रु यदि भिड पहिल्यै नियन्त्रित गर्न सकिएको भए यो हदको घटना रोक्न सकिन्थ्यो”, उहाँले भन्नुभएको छ।

उहाँका अनुसार घटनाको केही समयअघि पनि मन्दिरमा भिड अनियन्त्रित भएको थियो तर भागदौड भएन।

साँघुरो बाटो भएका कारण दुवै तर्फबाट दर्शनार्थीहरू निस्किने क्रममा विवाद र भागदौड भएको अनुमान गरिएको छ।

परिवार र साथीहरूसँग दर्शनका लागि पुगेका गोरखपुरका एक भक्तले भागदौडको समय आफू चमेनागृहनजिकै बसिरहेको र त्यसपछि खोजी गर्दा आफूसँग आएका साथीहरूको पत्ता नलागेको मोहित कन्धारीसँग बताउनुभएको छ।

“हामीले २ बजेदेखि ६ बजेसम्म पनि खोज्दा उनीहरूलाई फेला पारेनौँ। पछि अस्पताल आएर थाहा भयो उनीहरूको मृत्यु भइसकेको रहेछ”, उहाँले भन्नुभयो।

उहाँका चिकित्सक साथीलाई ‘स्मार्ट वाच’ लगाएर दर्शन गर्न गएकाले सुरक्षाकर्मीले मन्दिरबाट फिर्ता पठाएका थिए। त्यसपछि साथीसँग सम्पर्क हुन नसकेको भक्तले बताउनुभयो।

राहत घोषणा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाबारे दुःख व्यक्त गर्दै जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हासँग आफूले त्यहाँको अवस्थाबारे जानकारी लिएको बताउनुभएको छ।

मोदीले मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग प्रधानमन्त्री राहत कोषबाट उपलब्ध गराउने घोषणा गर्नुभएको छ।

कांग्रेस नेता राहुल गान्धीले पनि ट्वीट गर्दै घटना दुःखद भएको बताउनुभएको छ।

गृहमन्त्री अमित शाहले घटनाले मनमा गहिरो चोट लागेको बताउनुभएको छ।

गुफाभित्र मन्दिर

वैष्णोदेवीको मन्दिरमा एक वर्षमा लाखौँ दर्शनार्थीहरू जान्छन्। उक्त मन्दिर जम्मूको रियासी जिल्लामा समुद्र सतहबाट ८७५ मिटरको उचाइमा एउटा गुफामा छ।

इस्वी संवत्‌को नववर्षको दिन त्यहाँ हजारौँ मानिसको भिड लागेको छ।

गत वर्ष यो मन्दिरमा ५६ लाखले दर्शन गरेको बताइएको छ।

मन्दिरको व्यवस्थापन माता वैष्णोदेवी श्राइन बोर्डले गर्दै आएको छ।

उक्त बोर्डले त्रिकुटा पहाडमा दर्शनका लागि विद्युतीय(ब्याटरी) कार र रोपवे सेवाको पनि सञ्चालन गरेको छ।

Share Now

Leave a comment.