काठमाडौं, २० पौष । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण सङ्क्रमण बढिरहेकाले नेपालमा पनि जोखिम निकै बढेको अधिकारीहरूले बताएका छन्।
त्यस्तो जोखिमलाई दृष्टिगत गरेर सतर्कता र रोकथामका लागि ‘विभिन्न उपायहरू अपनाइएको’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
तर नेपाल-भारत खुला सीमाका कारण रोकथामका उपायमा चुनौती थपिएको उनीहरूले बताएका छन्।
एकजना जनस्वास्थ्यविद्ले ‘ओमिक्रोन भेरिअन्टको जोखिम हेरेर व्यावहारिक मापदण्डहरू लागु नगरिएको’ भन्दै सरकारको आलोचना गरेका छन्।
जोखिम बढेको कस्तो सङ्केत ?
भारतमा केही दिनदेखि लगातार ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या बढिरहेको छ।
नेपालमा पनि ओमिक्रोन सङ्क्रमणको जोखिम बढेको जस्तो देखिएको अधिकारीहरूको भनाइ छ।
त्यसका विभिन्न आधारहरू रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो।
उहाँका भनाइमा त्यसको पहिलो आधार भनेको नेपालको कोभिड निगरानी प्रणालीमा ओमिक्रोन भेरिअन्ट देखा परिसक्नु हो। यद्यपि अहिलेसम्म सरकारले केवल तीन जनामा ओमिक्रोन पुष्टि गरेको छ।

कोभिड परीक्षण
नेपालमा गत महिना पहिलो पटक ओमिक्रोन फेला परेको पुष्टि भए पनि पर्याप्त परीक्षण भएको छैन
उहाँका अनुसार नेपालका सीमावर्ती सहरसहित नेपालीहरू धेरै काम गर्न गएका भारतीय क्षेत्रमा उक्त भेरिअन्ट फैलिनु दोस्रो आधार हो।
पछिल्ला दिनहरूमा सीमा क्षेत्रमा राखिएका हेल्थ डेस्कमा गरिएको एन्टिजन परीक्षणमा सङ्क्रमण क्रमशः बढेको देखिनु जोखिम बढ्नुको अर्को आधार रहेको पौडेलको भनाइ छ।
त्यसैगरी पछिल्ला परीक्षणहरूमा सङ्क्रमित मानिसबाट सङ्कलित कोरोनाभाइरसको नमुनामा एस-जीन नदेखिने दर बढेकाले त्यो पनि सम्भावित जोखिमको आधार भएको पौडेलले बताउनुभयो।
“हामीले एसजीनको अनुगमन गरिरहेका छौँ। तुलनात्मक रूपमा एस-जीन पनि नेगेटिभ हुने प्रवृत्ति बढ्दो क्रममा देखिएको छ। त्यसमध्ये केही मात्रा ओमिक्रोन पनि हुनसक्छन्।ओमिक्रोनमा दुईवटै प्रवृत्ति देखिएको छः एसजीन टार्गेट फेलिअर अर्थात् नेगेटिभ र पोजेटिभ हुने पनि देखिएका छन्।”, उहाँले भन्नुभयो,”यसभन्दा अगाडिको एस-जीन टार्गेटको फलोअपमा एस-जीन टार्गेट फेलिअरको सङ्ख्या एकदमै न्यून रहेको थियो भने अहिले त्यो बिस्तारै बढ्दो क्रममा गएको अवस्था छ।”
भारतको फैलावट र सतकर्ताको खाँचो
भारतमा ओमिक्रोन भेरिअन्टको कुल सङ्क्रमण १,७०० पुगेको छ। तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ५१० जनामा ओमिक्रोन सरेको पुष्टि भएको छ।
सोमवार बिहान प्रकाशित सरकारी तथ्याङ्कअनुसार नेपालसँग सीमा जोडिएका पश्चिम बङ्गालमा २० जना तथा उत्तर प्रदेश र उत्तराखण्डमा आठ(आठजनामा पनि ओमिक्रोन पुष्टि भएको छ।
विगत २४ घण्टामा भारतमा ३३ हजार ७ सय ५० जनामा कोभिड पुष्टि भएको छ भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस अवधिमा १ सय २३ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको थियो।
अहिले भारतमा १ लाख ४५,हजार जनाभन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ।
नेपालमा सोमवार अपराह्ण प्रकाशित विवरणमा सरकारले २४ घण्टाको अवधिमा थप ३ सय २६ जना कोरोनाभाइरस भेटिएको र दुई जनाको निधन भएको पुष्टि गरेको छ। आइतवार २ सय १६ जना कोभिड र दुई जनाको कोभिडसम्बन्धी कारणले मृत्यु भएको थियो।
नेपालमा अहिले ५ हजार जनामा सक्रिय सङ्क्रमण रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

स्थानीय सरकारलाई के भन्छ महाशाखा ?
नेपालमा ओमिक्रोनको जोखिम बढेको सङ्केत पाइएको अधिकारीहरूले बताइरहेका बेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय सरकार र मातहतका निकायलाई प्रभावकारी रूपमा जनस्वास्थ्यका मापदण्ड पालन गराउन आग्रह गरेको छ।
उसले पहिचान भएका कोभिडका बिरामीसँग सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गर्न पनि आग्रह गरेको छ।
त्यस्तै महाशाखाले सीमा नाकामा कडाइ गर्न र खोप लगाउने कुरामा वृद्धि गर्न पनि आग्रह गरेको छ।
क्वारन्टीन र आइसोलेशनमा रहेका मानिसको निरन्तर निगरानी गर्न पनि उसले भनेको छ।
सीमामा समस्या
नेपाल र भारतबीच खुला सीमा भएकाले बिनाव्यवधान आवागमन हुँदा सीमा क्षेत्रमा कडाइ गर्न कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
मुख्य नाकाबाहेक अन्य क्षेत्रबाट पनि आवागमन हुने भएकाले सबैको स्वास्थ्य परीक्षण हुन नसकेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
महाशाखा प्रमुख पौडेलले भन्नुभयो, ूहाम्रो हेल्थ डेस्कहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत १३ स्थानमा मात्रै छन्। ती १३ स्थानका हेल्थ डेस्कले यत्रो ठूलो भार थेग्न सक्दैनन् किनभने सबै अन्तरसीमा आवागमन ती तोकिएका मुख्यमुख्य प्रवेश बिन्दुबाट मात्रै हुन्छन् भन्ने छैन।”

पौडेलले पहिलो र दोस्रो लहरमा पनि जाँच नहुने क्षेत्रबाट मानिसहरूको आवतजावत भएको भन्दै उनले सीमाबाट हुनसक्ने ‘सङ्क्रमण आदानप्रदान’ रोक्न निकै कठिन हुने गरेको बताउनुभयो।
“धेरै आवागमन चाहिँ यी नाका बाहेकका स्थानबाट पनि हुन्छ जुन चाहिँ हामीले चाहँदैमा रोक्ने सक्दैनौँ किनभने हाम्रो घरको आँगनबाटै र खेतको आलीबाटै सिमाना छुट्टिन्छ।त्यहाँ आवतजावत बेरोकतोक छ त्यसैले सबै जना सचेत हुनुपर्ने अवस्था छ।”. पौडेलले बताउनुभयो।
तेस्रो लहरको खतरा कस्तो ?
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नेपालमा ओमिक्रोन भेरिअन्टको जोखिम बढेसँगै तेस्रो लहर आउने खतरा पनि बढेको बताएका छन्।
,
सीमा क्षेत्रमा गरिएको परीक्षणमा सङ्क्रमण बढ्दो क्रममा देखिएको छ
तर हालसम्म मन्त्रालयले कुन मितिसम्ममा नेपालमा तेस्रो लहर सुरु हुन्छ भन्ने आकलन गरिनसकेको उनीहरूको भनाइ छ।
“हामीले कहिले तेस्रो लहरको अवस्था आउँछ भनेर आकलन गरिसकेका छैनौँ तर छलफल र विज्ञसँगको सल्लाहमा छौँ “. स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले भन्नुभयो।
उहाँले पहिलो लहरमा भारतमा सङ्क्रमण चुलिँदै जाँदा त्यसको एक महिनापछि नेपालमा सङ्क्रमण उच्च भएको बताउनुभयो।
अधिकारीका अनुसार डेल्टा भेरिअन्टका कारण आएको दोस्रो लहर नेपालमा भारतमा उच्च सङ्क्रमण भएको १५ देखि २० दिनमा नेपालमा सङ्क्रमण तीव्र भएको थियो।
अहिले पनि भारतमा ओमिक्रोन भेरिअन्ट बढ्न थालेकाले त्यसले केही साताभित्रै नेपालमा धेरै सङ्क्रमण बढाउन सक्ने अधिकारीहरूले बताएका छन्।
के भन्छन् विज्ञ ?
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले नेपालले ओमिक्रोन भेरिअन्टलाई विचार गरेर सुहाउँदो रणनीति बनाएको जस्तो नदेखिएको बताउनुभयो।

सरकारसँग भण्डारमा पर्याप्त कोभिड खोप भए सहज रूपमा वितरण हुन सकेको छैन
उहाँका भनाइमा ओमिक्रोन भेरिअन्ट धेरै फैलिने खालको भए पनि अघिल्ला भेरिअन्टजस्तै धेरै दिनसम्म सर्ने खालको नभएको भन्ने विवरणहरू आइरहेका छन्।
त्यसैले गर्दा लामो समयको क्वारन्टीनको व्यवस्था गर्दा त्यो लागु नहुन सक्ने र मानिसहरूले पालन गर्न नसक्ने मरासिनी बताउनुहुन्छ।
“हामीले बनाउने मापदण्डहरू पनि व्यावहारिक हुनुपर्यो अनि मात्र ती पालन हुन्छन्”, उहाँले भन्नुभयो।
सीमानाकामा विशेष सतर्कता अपनाउन सकिए ओमिक्रोन भेरिअन्टको जोखिम कम हुने उनको तर्क छ।


















