Prakash Adhikari November 3, 2026
सोलुखुम्बु, १७ कात्तिकः सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको हो ।

दुर्घटनामा सोही हेलिकप्टरमा सवार भारतीय मूलका न्यूजिल्यान्डका नागरिक शैलेश कृष्ण पटेल घाइते भएका छन् । घाइतेको प्रभु हेलिकप्टरमार्फत उद्धार गरी राजधानीको मेडिसिटी अस्पताल पुर्‍याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।
घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला  ल्याइएको र पछि काठमाडौं ल्याएको हो । घाइतेको अवस्था र दुर्घटनामा परेको हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण भने खुल्न बाँकी रहेको छ ।
हिमाली क्षेत्रको फेरुचेमा भएको उक्त दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
Share Now