काठमाडौँ, ७ मङ्सिर : भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
यस अगाडि प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गर्नुभयो । सो अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको थियो ।
भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने विषयमा आठ वटा समझदारी भएका थिए ।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनुहुन्थ्यो ।






