काठमाडौँ, ७ मङ्सिर : प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको शिलान्यास गर्नुभएको छ ।
दुवै देशका प्रधानमन्त्रीले सोमबार दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको शिलान्यास गर्नुभएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन र भण्डारण केन्द्रको शिलान्यासले दुवै देशबीचको आपूर्ति साझेदारी थप सुदृढ बनाउने बताउनुभयो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले दुवै मुलुकका प्रधानमन्त्रीले आज झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारणको शिलान्यासले नेपालको पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको आयातमा सहज हुने बताउनुभयो ।
सोही परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापासम्म ५० किलोमिटर पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण गर्ने योजना रहेको छ । भारत सरकारले पेट्रोलियम पाइपलाइन र भण्डारकेन्द्र दुवै अनुदानमा निर्माण गरिदिन लागेको हो । “अहिले पूर्वीनेपालमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थ ल्याउने काम भइरहेको छ,” प्रबन्ध निर्देशक शाहले भन्नुभयो, “यो परियोजना सम्पन्न भएसँगै पाइपलाइनबाट पेट्रोलियम पदार्थ सहजै ल्याउन सकिनेछ ।”
भारत सरकारको अनुदानमा नै पाइपलाइन र भण्डारकेन्द्र निर्माण हुन गइरहेको प्रबन्ध निर्देशक साहले बताउनुभयो । “अहिले झापामा पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको टर्मिनलको शिलान्यास भएको हो । पाइपलाइन निर्माणको लागि पनि आवश्यक साइट क्लिरेन्स लगायतका काम भइरहेका छन्”, उहाँले भन्नुभयो ।
प्रबन्ध निर्देशक साहका अनुसार पेट्रोलियम भण्डारण केन्द्रको लागत करिव छ अर्ब र पेट्रोलियम पाइलाइनको निर्माणका लागि करिब रु पाँच अर्ब लाग्ने बताउनुभयो । झापामा निर्माणाधीन उक्त भण्डारण गृहको कूल क्षमता १८ हजार ९०० किलोलिटर रहेको छ । यहाँ डिजेल, पेट्रोल र मट्टीतेल लगायतको पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ । दुवै मुलुकका प्रधानमन्त्रीले आजै मोतिहारी–अमलेखगञ्ज पाइपलाइपको दोस्रो चरणको परियोजनाको उद्घाटन गर्नुभयो ।