Prakash Adhikari November 23, 2026
वासिङ्टन, ७ मङ्सिर (रासस/एएनआई) । अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२ यताकै ठूलो बहुमत हासिल गरेको छ । सन् २०१८ को मध्यावधि निर्वाचनमा प्राप्त ४० सिटको उपलब्धिलाई उछिन्दै यसपटक डेमोक्रेटले अहिलेसम्म ४४ सिट जितेका हुन् ।
उत्तरी क्यारोलिनामा डेमोक्रेटिक उम्मेदवार चक हबार्डले रिपब्लिकन प्रतिनिधि भर्जिनिया फक्सलाई ३३० मतले पराजित गरेपछि पार्टीको सिट सङ्ख्या २५८ पुगेको हो ।
सीबीएस न्युजका अनुसार ४३५ सदस्यीय प्रतिनिधिसभामा डेमोक्रेटले पाएको यो बहुमत पार्टीको अपेक्षाभन्दा बढी हो । अझै चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहेकाले थप सिट जित्ने सम्भावना छ । रिपब्लिकनले भने कम्तीमा १७३ सिट पाउने निश्चित भएको छ ।
सभामुख बन्ने तयारीमा रहनुभएका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले यस शताब्दीमा अमेरिकी काङ्ग्रेसमा कुनै पनि पार्टीले हासिल गरेको यो सबैभन्दा ठूलो बहुमत भएको बताउनुभएको छ ।
निर्वाचन परिणामले अमेरिकामा विभाजित सरकारको अवस्था सिर्जना गरेको छ । डेमोक्रेटले सिनेटमा नियन्त्रण कायम राखेका छन् भने रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा हुनुहुन्छ । डेमोक्रेटले बढ्दो जीवनयापन खर्च सम्बोधन गर्ने १०० दिने कार्यसूची बनाउनुका साथै ट्रम्प प्रशासनमाथि व्यापक निगरानी गर्ने तयारी गरेको सीबीएस न्युजले जनाएको छ ।
Share Now