काठमाडौं, २४ पौष । नेपालमा गत २४ घण्टामा ९ सय ६८ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि भएको छ।
कुल १४ हजार ९ सय ७१ जनाको पीसीआर र एन्टीजन विधिबाट परीक्षण गरिएकोमा झन्डै साढे छ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
तीमध्ये एन्टीजन विधिबाट सिमानाकामा गत दुई दिनमा ६ हजार ६ सय ९९ परीक्षण गरिएकोमा झन्डै छ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
शुक्रवार कोभिडका कारण थप मृत्यु पुष्टि भएको छैन। गत २४ घण्टामा २६२ जना सङ्क्रमणमुक्त भएका थिए।
सक्रिय सङ्क्रमित बढ्यो
हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ४१ पुगेको छ।
तीमध्ये काठमाण्डूमा १ हजार ४ सय ५४ जना, ललितपुरमा ६ सय ६४ जना र भक्तपुरमा ५ सय ६२ जना रहेका छन्।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू तिनै तीन जिल्ला हुन् भने सुनसरी, कास्की, बाँके र कैलालीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
सक्रिय सङ्क्रमितमध्ये ४ सय ५५ जना अस्पतालमा उपचाररत छन्। कुल ८१ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्याङ्क छ।

कोरोना भाइरस परीक्षण
थप सङ्क्रमित कहाँका ?
शुक्रवार पुष्टि भएकामध्ये काठमाडौंका २ सय ८४ जना ६२ जना ललितपुरमा र २३ जना भक्तपुरका रहेका छन्।
त्यस्तै २९ जना मोरङका र २० जना चितवनका रहेका छन्।
शुक्रवार पुष्टि भएका सङ्क्रमितमध्ये १३ जना १० वर्षसम्मका बालबालिका, ५६ जना ११ देखि २० वर्षका किशोरकिशोरी, १ सय ४९ जना २१ देखि ३० वर्षका र १ सय ६० जना ३१ देखि ४० वर्षका छन्।
त्यस्तै ८४ जना ४१ देखि ५० वर्षका, ५० जना ५१ देखि ६० वर्षका र बाँकी ६० वर्षमा माथिका छन्।
थप २४ जनालाई ओमिक्रोन
नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पुस महिनामा सङ्क्रमणमध्ये सङ्कलित १ हजार १ सय ४६ नमुनामध्ये २२ प्रतिशत अर्थात् २ सय ५० वटामा एसजीन नेगेटिभ देखिएको र तीमध्ये २४ वटाको जीन सिक्वेन्सीङ सर्दा सबैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको मन्त्रालयले जनाएको हो।
ूयो नतिजा हेर्दा एस(जीन नेगेटिभ भएकाहरू सबैमा नै ओमिक्रोन हुनसक्ने देखायो। चार जनामा एक जनामा ओमिक्रोन छ भन्ने देखियो,ू सङ्क्रामक रोग विज्ञ डा, शेरबहादुर पुनले भन्नुभयो।
ओमिक्रोनको सङ्क्रमण उच्च देखिएपछि मन्त्रालयले सबै अस्पताललाई “अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजनलगायत सामग्री यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयार रहन” निर्देशन दिएको छ।
मन्त्रालयले पुस महिनाका कति दिनमा पुष्टि भएका सङ्क्रमितबाट नमुना सङ्कलन गरिएको भन्ने खुलाएको छैन।
पुस १ गतेदेखि २२ गते बिहीवारसम्म नेपालमा पीसीआर विधिबाट १४ हजार ४ सय ६४ र एन्टीजन विधिबाट ५ सय ७२ गरी कुल १५ हजार ३६ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।
तीमध्ये १ हजार १ सय ४६ जनाको एस(जीन स्क्रीनिङ्क गरिएको हो जसमा २२ प्रतिशतमा ओमिक्रोनको सङ्केत देखिएकोमा त्यसको १० प्रतिशतभन्दा केही कमको जीन सीक्वेन्सीङ गरिएको देखिन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान इकाई प्रमुख डा। पुनका भनाइमा उक्त जीन सिक्वेन्सीङको नतिजाले नेपालभित्र पनि समुदायमा ओमिक्रोन फैलिइसकेको हुनसक्ने सङ्केत गरेको छ।
“तर ओमिक्रोन लागेकामध्ये कति गम्भीर अवस्थामा छन् भन्ने विवरण खुलेको छैन”,डा. पुनले भन्नुभयो ।
‘ओमिक्रोनको गम्भीरतालाई समेत हेरेर अब सरकारले त्यसलाई नियन्त्रण गर्ने योजना बनाउन’ जरुरी हुन्छ।
मन्त्रालयको कथन
मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जारी गरेको प्रेस विज्ञप्तिमा सीमा नाकाहरूमा कोभिड परीक्षणलाई ूथप सशक्त बनाउने तथा भेटिएका सङ्क्रमितलाई एकान्तवासमा राख्ने व्यवस्था गरिएकोू जनाइएको छ।
ूविश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोन को कारणले अत्याधिक मात्रामा कोभिडका सङ्क्रमण बढ्न सक्ने सम्भावना रहेकोू मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबैलाई थप सजगता अपनाउन भन्दै जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न अनुरोध गरेको छ।
सही तरिकाले मास्क लगाउने, बारम्बार हात धुने र भौतिक दूरी कायम गर्ने गर्दा अन्य भेरिअन्टजस्तै ओमिक्रोनबाट सङ्क्रमण हुने सम्भावना पनि कम हुन्छ।(बीबीसीबाट)


















