Prakash Adhikari January 7, 2022

 

काठमाडौं, २३ पौष । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पुस महिनामा सङ्क्रमणमध्ये सङ्कलित १हजार१ सय ४६ नमुनामध्ये २२ प्रतिशत अर्थात् २ सय ५० वटामा एस(जीन नेगेटिभ देखिएको र तीमध्ये २४ वटाको जीन सिक्वेन्सिङ सर्दा सबैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको मन्त्रालयले जनाएको हो।

“यो नतिजा हेर्दा एस जीन नेगेटिभ भएकाहरू सबैमा नै ओमिक्रोन हुनसक्ने देखायो। चार जनामा एक जनामा ओमिक्रोन छ भन्ने देखियो”, सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनले भन्नुभयो।

ओमिक्रोनको सङ्क्रमण उच्च देखिएपछि मन्त्रालयले सबै अस्पताललाई ‘अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजनलगायत सामग्री यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयार रहन’ निर्देशन दिएको छ।

मन्त्रालयले पुस महिनाका कति दिनमा पुष्टि भएका सङ्क्रमितबाट नमुना सङ्कलन गरिएको भन्ने खुलाएको छैन।

पुस १ गतेदेखि २२ गते बिहीवारसम्म नेपालमा पीसीआर विधिबाट १४ हजार ४ सय ६४ र एन्टीजन विधिबाट ५ सय७२ गरी कुल १५ हजार ३६ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।

तीमध्ये १ हजार १ सय ४६ जनाको एस-जीन स्क्रीनिङ्क गरिएको हो जसमा २२ प्रतिशतमा ओमिक्रोनको सङ्केत देखिएकोमा त्यसको १० प्रतिशतभन्दा केही कमको जीन सिक्वेन्सिङ गरिएको देखिन्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान इकाई प्रमुख डा। पुनका भनाइमा उक्त जीन सिक्वेन्सिङको नतिजाले नेपालभित्र पनि समुदायमा ओमिक्रोन फैलिइसकेको हुनसक्ने सङ्केत गरेको छ।

“तर ओमिक्रोन लागेकामध्ये कति गम्भीर अवस्थामा छन् भन्ने विवरण खुलेको छैन”, डा. पुनले भन्नुभयो ।

“ओमिक्रोनको गम्भीरतालाई समेत हेरेर अब सरकारले त्यसलाई नियन्त्रण गर्ने योजना बनाउनु जरुरी हुन्छ।”

मन्त्रालयले थप के भन्यो ?

मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जारी गरेको प्रेस विज्ञप्तिमा सीमा नाकाहरूमा कोभिड परीक्षणलाई ‘थप सशक्त बनाउने तथा भेटिएका सङ्क्रमितलाई एकान्तवासमा राख्ने व्यवस्था गरिएको’ जनाइएको छ।

“विश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोन को कारणले अत्याधिक मात्रामा कोभिडका सङ्क्रमण बढ्न सक्ने सम्भावना रहेको” मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सबैलाई “थप सजगता अपनाउन” भन्दै जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न अनुरोध गरेको छ।

सही तरिकाले मास्क लगाउने, बारम्बार हात धुने र भौतिक दूरी कायम गर्ने गर्दा अन्य भेरिअन्टजस्तै ओमिक्रोनबाट सङ्क्रमण हुने सम्भावना पनि कम हुन्छ।

Share Now

Leave a comment.