काठमाडौं, २४ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास भक्तपुरको बालकोट पुग्नुभएको छ ।
प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीसंग संसदको चालु हिउँदे अधिवेशनका बैठक निर्वाध रुपमा अगाडि बढाउन सहयोग माग्न बालकोट पुग्नु भएको हो ।
एमालेले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ ।
अवरोध हटाउन सरकारले आयोजना गरेको सर्वदलीय बैठकमा समेत एमाले अनुपस्थित रहेको थियो ।
सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्षलाई भेट्न आफूहरु नै बालकोट जाने बताउनुभएको थियो ।
यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।
पौडेलसँगको छलफलबाट पनि निकास ननिस्किएपछि संयन्त्रले यो जिम्मा प्रधानमन्त्रीलाई नै दिएको थियो ।
एमालेले माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीका सांसद उपस्थित भएको संसद र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आएको छ ।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले कारबाहीको लागि पठाएको सूचीमा रहेका सांसदहरुलाई कारबाही गरिएको सूचना सभामुखले टाँस नगरेको भन्दै संसद अवरोध गरिरहेको छ ।
सभामुखले त्यस्तो सूचना केही दिन रोकेपछि नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको र त्यसका आधारमा संसदभित्र नयाँ संसदीय दल दर्ता गरेर वैधानिक पार्टीको रुपमा परिणत भएकोले कारवाही गरिरहन नपर्ने भन्दै सो सूचना मुल्तवीमा राखिदिनुभएको थियो ।


















