Prakash Adhikari January 8, 2022

 

काठमाडौं, २४ पौष । झन्डै एक हजार जनालाई एकै दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको दिन प्रधानमन्त्री शेरबहादुर देउवाले जोखिममा रहेका व्यक्तिहरूका लागि तेस्रो मात्रा खोप दिन निर्देशन दिनुभएको छ।

कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले निश्चित समूहहरूलाई माघको पहिलो साताबाट अतिरिक्त मात्रा खोप दिने प्रक्रिया अघि बढाएको बताएका थिए।

यसअघि यसै सातादेखि अतिरिक्त मात्रा दिने अभियान भनेर तय गरिएको कार्यक्रमलाई मन्त्रालयले रद्द गरेको थियो।

निर्देशक समितिको बैठक

पछिल्लो २४ घण्टामा करिब १५ हजार नमुना परीक्षण गर्दा ९ सय ६८ वटा नयाँ सङ्क्रमण पुष्टि भएका खबरमाझ प्रधानमन्त्री देउवा नेतृत्वको सीसीएमसीसीसी निर्देशक समितिको बैठक बसेको थियो।

त्यसअघि शुक्रवार अपराह्न मन्त्रालयले थप २४ जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताएका थिए।

सीसीएमसीसीको बैठकमा सङ्क्रमणले भावी दिनमा निम्त्याउन सक्ने जोखिम र त्यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा छलफल भएको अधिकारीहरूले बताएका छन्।

सीसीएमसीसी प्रवक्ता सहसचिव सुनिता नेपालले भन्नुभयो, ूछलफलमा ुहामीसँग खोप यथेष्ट मात्रामा छ, सकेसम्म हामीले खोप सबैलाई लगाइदिन सक्यौँ भने सङ्क्रमण फैलिनै हाल्यो भने पनि त्यसको असर कम हुने अन्य देशहरूमा पनि देखिएको छु भनेर विज्ञहरूले कुरा राख्नुभएको थियो।ू

प्रधानमन्त्रीका तीन निर्देशन

देउवा

उक्त बैठकमा प्रधानमन्त्री देउवाले पनि यो महिनाभित्र लक्षित जनसङ्ख्याको दुईतिहाइलाई खोप दिने सरकारको लक्ष्य प्राप्तिका लागि अझ सक्रियताका साथ काम गर्नुपर्ने धारणा राख्नुभएको थियो।

स्वास्थ्यसहित विभिन्न मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधि सम्मिलित बैठकमा प्रधानमन्त्रीले तीन निर्देशन दिएको प्रवक्ता नेपालले बताउनुभयो।

सतर्क रहने र स्वास्थ्यको मापदण्ड अपनाउने कुरामा थप जनचेतना फैलाउनुपर्ने प्रधानमन्त्रीको पहिलो निर्देशन रहेको उहाँले बताउनुभयो।

प्रधानमन्त्री देउवाले खोप अभियानलाई तीव्र बनाउनुपर्ने धारणासहित अर्को निर्देशन दिनुभएको थियो।

त्यसक्रममा प्रधानमन्त्री देउवाले निश्चित समूहमा पर्ने व्यक्तिहरूलाई तेस्रो मात्रा खोपको व्यवस्थापन गरी छिटोभन्दा छिटो अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभएको थियो।

प्रवक्ता नेपालले थप्नुभयो, ूस्वास्थ्य मन्त्रालयको तर्फबाट उहाँहरूले हामी माघको पहिलो हप्ताबाट सुरु गर्न सक्छौँ भन्नुभएको छ।ू

बिहीवार अपराह्नसम्मको आँकडामा नेपालमा कुल जनसङ्ख्याको लगभग ३६.२ प्रतिशतले पूर्ण मात्रा र ४९.१ प्रतिशतले एक मात्रा खोप लगाएका छन्।

पुस मसान्तसम्म १८ वर्षभन्दा माथिको उमेर समूहका दुईतिहाइलाई खोप लगाइसक्ने लक्ष्य गण्डकी र बाग्मती प्रदेशले मात्रै प्राप्त गरेका छन्।

खोप अभियान

खोप अभियान

प्रधानमन्त्री देउवाले सीसीएमसीसी बैठकमा खोप अभियानलाई अझ व्यापक बनाउन सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने धारणा राख्नुभएको थियो।

आफ्नो तेस्रो निर्देशनमा प्रधानमन्त्री देउवाले भविष्यमा कोभिड १९ महामारीका कारण देखा पर्नसक्ने जोखिमलाई ध्यान दिएर पूर्वतयारी अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।

त्यसका लागि अस्पतालहरूमा अक्सिजनलगायत अरू सामग्रीहरू तयार अवस्थामा राख्न र होल्डिङ सेन्टरहरूको व्यवस्थापन गर्न पनि उहाँले सुझाव दिनुभयो।

यसअघि बैशाख जेठमा देखिएको कोभिड १९ को लहरसँग जुझ्न नेपालले अक्सिजन र आईसीयू सहितका जीवनरक्षक स्वास्थ्य सहयोग प्रणालीहरूको अभाव खेपेको थियो।

लकडाउनको संभावना

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर वृद्धि हुनसक्ने सङ्केतका माझ प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको बैठक हप्तामा एकपटक राखेर स्थितिको समीक्षा गर्नेबारे शुक्रवार छलफल भएको अधिकारीहरू बताउँछन्।

लकडाउन वा यात्रामा निषेधाज्ञा लगाउने विषयमा छलफल भए या भएनन् भन्ने विषय बाहिर ल्याइएको छैन।

तर प्रवक्ता नेपालले विभिन्न सम्भावित कदमहरूबारे शुक्रवारको बैठकमा छलफल भएको बताउनुभयो।

“हामीले दोस्रो लहर चल्दा पनि लकडाउन अपनायौँ। आफ्नो अवस्था कस्तो छ त्यो अनुसार नै जिल्लाहरूले अभ्यास गर्नुभयो। त्यस्तै अभ्यास अघि बढ्न सक्छ। यो निर्णयमा पनि आउन सक्ला तर अहिले नै मैले भन्न सकिन।”, प्रवक्ता नेपालले भन्नुभयो ।

सीसीएमसीसीले आफ्नो जिल्लाको अवस्था हेरेर मापदण्ड तय गर्न तलका निकायहरूलाई निर्देशन दिएको उल्लेख गर्दै तेस्रो देश वा भारतबाट आउनेहरूलाई १० दिन घरभित्रै एक्लिएर बस्न विगतमा सुझाव दिइएको उनले उल्लेख गर्नुभयो।

“अहिले हामी आफैँले पनि अनुशासित हुनुपर्ने अवस्था देखिएको छ।”, उहाँले भन्नुभयो ।

Share Now

Leave a comment.