वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २४ पौष(बीबीसी) । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले हिंसात्मक प्रदर्शनविरुद्ध लड्न रुसी सैन्य सहायता खोज्ने काजकस्तानको निर्णयमाथि प्रश्न उठाउनुभएको छ।
काजकस्तानमा इन्धनको मूल्य वृद्धिविरुद्ध सुरु भएको विरोध प्रदर्शनमा दर्जनौँ मानिसले ज्यान गुमाएका छन्। रुसी नेतृत्वमा तैनाथ हुने २ हजार ५ सय सेनामध्ये केही काजकिस्तान पुगेका छन्।
परिस्थितिको सामना गर्न काजकिस्तान सरकार सक्षम रहेको अमेरिकी सरकारको विश्वास छ। ब्लिङ्कनले पत्रकारहरूसँग त्यहाँ किन सेना तैनाथ गरियो प्रस्ट नभएको बताउनुभयो।
मस्कोका अधिकारीहरूले सामूहिक सुरक्षा सन्धि सङ्गठन सीएसटीओअन्तर्गत अस्थायी रूपमा सेना तैनाथ गरेको बताएको छ।
सीएसटीओ पाँच पूर्व सोभियत गणतन्त्र र रुसको सैन्य गठबन्धन हो। उक्त सङ्गठनमा रुस, काजकस्तान, बेलारुस, ताजिकिस्तान अनि आर्मिनिया सदस्य छन्।
प्रदर्शनकारीहरूले काजकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीका नगरप्रमुखको कार्यालय र विमानस्थलमा आक्रमण गरेपछि राष्ट्रपति कासीम जोमाट टोकाएभले सीएसटीओसँग सहयोगको आग्रह गरेका थिए।
“हालैको इतिहासले एउटा पाठ सिकायो। जब रुसीहरू तपाईँको घरमा पस्छन् तब उनीहरू त्यहाँबाट निस्कन कहिलेकाहीँ निकै गाह्रो हुन्छ।”, अमेरिकी विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा ब्लिङ्कनले भन्नुभयो,”मलाई लाग्छ कि काजकिस्तानका अधिकारीहरू र सरकारसँग कानुन र व्यवस्थाविपरीत नगई र प्रदर्शनकारीहरूको अधिकारको सम्मान गर्दै उनीहरूसँग छलफल गर्ने क्षमता छ।”
काजकस्तानले किन बाहिरी सहयोगको आवश्यकता महसुस गरे भन्नेबारे थप जानकारी लिने प्रयास भइरहेको बताउनुभयो।

सेना
केही रुसी सैन्य बल काजकिस्तान पुगेर शुक्रवार नै विमानस्थलबाट प्रदर्शनकारीहरूको हटाउन त्यहाँका सेनालाई मद्दत गरे।
यसैबीच काजकिस्तानका सेनाले अल्माटीमा पुनः आफ्नो नियन्त्रण कायम गर्न कडा कारबाही गरेको छ।
बिहीवार स्थानीय सञ्चारमाध्यमले सरकारी सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको भिडिओ सार्वजनिक गरेका थिए।
आन्तरिक मन्त्रालयका अनुसार सेना र प्रदर्शनकारीबीच झडपमा हालसम्म २६ ूसशस्त्र अपराधीहरूू र १८ सुरक्षा अधिकारीहरू मारिएका छन्।
राष्ट्रपति टोकाएभले प्रदर्शनका लागि विदेशी ूआतङ्कवादीू जिम्मेवार रहेको आरोप लगाउनुभयो।
काजकिस्तानका धेरै मानिसले आफ्नो सवारीसाधनको इन्धनका रूपमा प्रयोग गर्ने तरल पेट्रोलियम ग्यास एलपीजीको मूल्य बढेर दोबर भएपछि आइतवादेखि विरोध प्रदर्शन सुरु भएको हो।
सरकारले छ महिनाका लागि इन्धनको मूल्य पुरानै कायम राख्ने बताएको छ। तर प्रदर्शनकारीहरूले अन्य राजनीतिक समस्याप्रति गुनासो गर्दै आन्दोलन जारी राखेका छन्।
काजकिस्तानमा प्रभावकारी प्रतिपक्ष छैन र अधिकांश चुनावहरूमा सत्तारूढ दल करिब शतप्रतिशत मतका साथ जितेका छन्।
देशका पूर्वराष्ट्रपति नुरसुल्तान नजरबायेवले २९ वर्ष शासन गरेर पद छोडेपछि पनि शक्ति कायम राख्नुभएको थियो।
टोकाएभले उहाँलाई देशको सुरक्षा परिषद्को प्रमुखबाट हटाउनुभएको छ ।


















