काठमाडौं, २४ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित आधा दर्जन नेतालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमण पुष्टि भएपछि हालै सम्पन्न माओवादी महाधिवेशनका १ हजार ७ सय सहभागी सबैलाई कोरोनाभाइरस परीक्षण गर्न भनिएको माओवादी पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताउनुभएको छ।
माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको ढकालले जानकारी दिनुभयो
“पीसीआर परीक्षण गराउनु र स्वास्थ्य मापदण्ड अपनाउनु भनेर सबैलाई कडाइपूर्वक नै भनिएको छ”, ढकालले भन्नुभयो।
कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ।
शुक्रवार गरिएको एन्टिजन र पीसीआर परीक्षणमा पूर्वप्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई पनि सङ्क्रमण पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ।
“उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ”, प्रचण्डको सचिवालयले एक विज्ञप्तिमा भनेको छ।
“स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेसनमा रहनु हुनेछ। कोभिड १९ को कारण उहाँका केही पूर्वनिर्धारित कार्यक्रममा उहाँको सहभागिता हुन नसकेकोमा हामी दुखी छौँ।”
प्रधानमन्त्रीसँग शुक्रवार भेट
प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रवार मात्रै माओवादी अध्यक्ष प्रचण्डसँग भेट भएको थियो।
सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रधानमन्त्री निवास बालुवाटारमा जरुरी बाहेकका भेटघाट कम गरिएको प्रधानमन्त्री देउवाका निजी सचिवालयका गोविन्द परियारले जानकारी दिनुभयो।
ूउहाँ (प्रचण्ड) पनि पाँच दलीय गठबन्धनको बैठकमा आउनुभएको थियो। मास्क चाहिँ सबैले प्रयोग गर्नुभएको थियोू परियारले भन्नुभयो।
प्रधानमन्त्री देउवा शनिवार बिहानै एमाले अध्यक्ष केपी ओलीसँग भेट्न बालकोट पुग्नुभएको थियो।
प्रधानमन्त्री देउवाले यसअघि बालुवाटारमा राख्ने गरेका बैठकहरू सिंहदरबारमा राख्दै आउनुभएको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बालुवाटारमा पछिल्लो समय सतर्कता थप बढाइएको जानकारी दिनुभएको छ।
श्रेष्ठलाई पनि सङ्क्रमण

प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि सङ्क्रमण पुष्टि भएको छ।
माओवादीका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ।
“मसँग हालैका दिनहरूमा भौतिक रूपमा नजिकको सम्पर्कमा आएका सबैलाई आवश्यक सतर्कता अपनाउनुहुन म अनुरोध गर्दछु”, श्रेष्ठले भन्नुभएको छ।
पुन ११ गतेदेखि १८ सम्म काठमाडौंमा चलेको माओवादीको आठौँ महाधिवेशनमा १ हजार ७ सय बढी प्रतिनिधि सहभागी थिए।

माओवादी महाधिवेशनका सहभागि
महाधिवेशनपछि धेरैलाई एकसाथ सङ्क्रमण देखिएपछि सबै प्रदेश समितिमार्फत सहभागीहरूलाई सतर्कता अपनाउन र परीक्षण गर्न भनिएको ढकालले जानकारी दिनुभयो।
“प्रदेशमार्फत सबैलाई पीसीआर परीक्षण गर्ने र आवश्यक सावधानी अपनाउने भनिएको छ”, उहाँले भन्नुभयो।
महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख दलका शीर्ष नेताहरूसमेत सहभागी हुनुभएको थियो।
पुस १९ गते पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकपछि प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।
उहाँलाई केही दिनदेखि कोभिडको लक्षण देखिएको एक माओवादी नेताले बताउनुभएको छ ।


















