Prakash Adhikari January 12, 2022
corona spread Nepal

 

काठमाडौं, २८ पौष । नेपालमा गत २४ घण्टामा ३ हजार ७५ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि भएको छ।

कुल १३ हजार ३७ जनाको पीसीआर र एन्टीजन विधिबाट परीक्षण गरिएकोको थियो।परीक्षण गरिएका नमुना मध्ये २३ प्रतिशत भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको हो।

कोभिडका कारण थप २ जनाको मृत्यु पुष्टि भएको बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

थपिएका सङ्क्रमितमध्ये १ हजार ५ सयभन्दाबढी काठमाण्डू उपत्यकामा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै २ सय ७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकी प्रवक्ता स‌ंगीता मिश्राले हालैका दिनमा सङ्क्रमण दर वृद्धि भइरहेको भन्दै सावधानी अपनाउन अनुरोध गर्नुभएको छ।

राजधानीमा प्रतिबन्धात्मक ब्यवस्था

तीव्र गतिमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि काठमाण्डू उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बुधवारदेखि विभिन्न प्रतिबन्धात्मक नियमहरू लागू गरेका छन्।

तर त्यस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू पालना गर्न कठोर हुनुपर्ने आवश्यकता देखिएको छ ।

पहिले पनि यस्तै व्यवस्था लागु गर्दा जिल्ला प्रशासन कार्यालय ‘सूचना जारी गर्नमै सीमित बनेको’ भन्दै केहीले सामाजिक सञ्जालमा आलोचना समेत गरिरहेका छन्।

सङ्क्रामक रोग र जनस्वास्थ्यविद्हरूले चाहिँ यस्ता प्रतिबन्धात्मक व्यवस्थाहरूका साथै खोपको विस्तारमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।

उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मङ्गलवार बसेको बैठकले विभिन्न प्रतिबन्धात्मक व्यवस्था गर्ने निर्णय गरेको थियो।

सङ्क्रमितहरूमध्ये सबैभन्दा धेरै उपत्यकाभित्र रहेको पृष्ठभूमिमा प्रजिअहरूको बैठकले त्यस्तो निर्णय गरेको हो।

मङ्गलवार मात्रै काठमाडौंमा ९ सय ८० जना सङ्क्रमित थपिएका छन् भने ३ हजार ५ सयभन्दाबढी सक्रिय सङ्क्रमित काठमाडौंमा छन् ।

त्यस्तै ललितपुरमा मङ्गलवार २ सय २१ र भक्तपुरमा ८० जनाभन्दा बढीमा कोभिड पुष्टि भएको थियो।

काठमाण्डू
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल ललितपुरमा अहिले झन्डै ११ सय र भक्तपुरमा करिब ७०० सक्रिय सङ्क्रमित रहेका छन्।

अब के गर्न पाइन्छ र के पाइँदैन ?

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको आदेश अनुसार अब सर्वसाधारणले तोकिएका स्वास्थ्य मापदण्डको पालनासहित विभिन्न कुराहरूमा सतर्कता अपनाउनु पर्ने भएको छ।

मास्कको प्रयोग नगरी कुनै पनि भेला हुने खालका कार्यक्रमहरू नगर्न पनि उक्त आदेशमा भनिएको छ।

सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने प्रशासनिक एवम् सामाजिक कार्यमा पनि बन्देज लगाइएको छ।

खोपलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन्

खोपलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन्

तर अत्यावश्यक कार्यक्रमका हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्न सकिन्छ।

जिल्ला प्रशासन कार्यालयहरूले लगाएका केही मुख्य प्रतिबन्धहरू : 

  • २५ जनाभन्दा बढी उपस्थित हुने कुनै पनि किसिमका मेला, भेला तथा महोत्सव गर्न नपाइने।
  • सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदी) मा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड-१९ विरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने। त्यस्तो कार्डको मोबाइलमा तस्बिर देखाउँदा पनि हुने।
  • तीन जिल्लाका सार्वजनिक सेवा लिँदा पनि माघ ७ गतेदेखि खोप कार्ड देखउनुपर्ने।
  • सार्वजनिक स्थानमा निस्शुल्क एन्टिजन परीक्षण बुथहरू राखिने।
  • जिल्ला जनस्वास्थ्य कार्यालयहरूले १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई एक साताभित्र कोभिडविरुद्ध अनिवार्य खोप लगाइसक्ने गरी तालिका बनाएर कार्यान्वयन गराउने।
  • पुस २७ देखि माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने।
  • सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा पनि भिडभाड कम हुने गरी व्यवस्था मिलाउने।
  • कोभिडको दोस्रो लहरका बेला प्रयोगमा आएका अक्सिजन सिलिन्डरहरू सम्बन्धित उद्योग, अस्पताल र स्थानीय तहलाई हस्तान्तरण गर्ने।
  • सार्वजनिक यातायातमा स्वीकृत सिट सङ्ख्याभन्दा बढी यात्रुहरू नराख्ने र स्वास्थ्य मापदण्ड पालन गर्ने।
  • औषधिमा कृत्रिम अभाव र मूल्यवृद्धि गरिए कानुन अनुसार कारबाही हुने।
  • उद्योग, व्यवसाय र पसल सञ्चालन गर्दा पनि स्वास्थ्य मापदण्ड पालन हुनुपर्ने।
  • मापदण्ड पालन भए नभएकोबारे आकस्मिक अनुगमन हुने र अवज्ञा भएको पाइए कारबाही हुने।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. नेपालमा कोभिड महामारी.  पौष १२ गतेदेखि दैनिक पुष्टि भएको सङ्क्रमितको सङ्ख्या.

कार्यान्वयनको प्रश्न
जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै दिएका आदेशहरूको पूर्ण पालनाबारे कतिपयले प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा कैयौँले विगतमा जिम्मेवार पदमा बसेकाहरूबाटै त्यस्ता नियमहरूको उल्लङ्घन भएको भन्दै सरकारतर्फ प्रश्न सोझ्याएका छन्।

सङ्क्रामक रोग तथा जनस्वास्थ्यविद्हरूले पनि उपत्यकाभित्रका प्रशासनले जारी गरेका आदेश वैज्ञानिक आधारमा जारी भएका भए पनि कार्यान्वयन हुनेमा शङ्का व्यक्त गरेका छन्।

त्यस्तै मध्येका एक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. जनक कोइरालाले भन्नुभएको छ, “अहिले आएका आदेशहरूको आधार वैज्ञानिक नै देखिएको छ। अन्य देशहरूमा पनि भएको त्यस्तै हो। यी कुराहरू कागजमा छन्, निर्देशन गएको छ सबैतिरबाट। प्रचारप्रसार पनि भइरहेको छ तर त्यसलाई आम तहमा कसले कार्यान्वयन गराउने भन्ने कुरामा चाहिँ जोड दिनुपर्‍यो। त्यसैमा नै मुख्य चुनौती देखिन्छ।”

उहाँ नेपालमा सङ्क्रमणको ग्राफ कति माथि जान्छ वा गम्भीर बन्छ भन्ने निर्धारण वैज्ञानिक आधारमा जारी गरिएका आदेशहरूको कार्यान्वयन कति हुन्छ भन्नेमा निर्भर गर्ने बताउनुहुन्छ।

त्यसका साथै खोपलाई जोड दिएर थप विस्तार गर्नुपर्ने उहाँको तर्क छ।

धरहरा क्षेत्र

धरहरा क्षेत्र

ओमिक्रोन भेरिअन्टको रोकथाममा दुई मात्रा खोप ४० प्रतिशत मात्र प्रभावकारी हुने देखिएको उहाँ बताउनुहुन्छ।

त्यो क्षमता बढाउन बिस्तारै नेपालले पनि तेस्रो मात्रा खोप दिनुपर्ने र देशका सबै क्षेत्रमा कम्तीमा पूर्ण मात्रा खोप पुर्‍याएर सबैलाई लगाउनुपर्ने उहाँको सुझाव छ।

“पहिलेका भेरिअन्टभन्दा पनि बढी मात्रामा फैलिने भएकाले अझ सतर्क हुनुपर्ने बेला आएको छ। तर यो भेरिअन्टले धेरै फैलिए पनि गम्भीर बिरामी गराउने क्षमता अलि कम भएको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो।

यद्यपि ओमिक्रोन भेरिअन्टले धेरैलाई बिरामी बनाएर घातक अवस्था आउन सक्नेतर्फ सरकारदेखि सर्वसाधारणसम्म सतर्क हुनुपर्ने उहाँको भनाइ छ।

अनुगमनका लागि सुरक्षाकर्मी परिचालन

आदेशको पालनाका लागि अधिकारीहरूले चाहिँ नियमित अनुगमन गर्ने बताएका छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भन्नुभयो, “पछिल्लो समयमा जनस्तरमा स्वास्थ्य मापदण्डको पालन नभएको जुन अवस्था देखिएको छ, त्यसको अनुगमनका लागि सुरक्षा निकायलाई परिचालन गरिनेछ।”

“त्यो अनुगमन गर्दा कसैले मास्क नलगाएको, सार्वजनिक सवारीसाधनमा स्वास्थ्य मापदण्ड पालन नगरेको पाइएमा कारबाही गर्ने गरी स्वास्थ्य मापदण्ड पालना गराउनका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको छ।”

उहाँले सार्वजनिक सेवा दिने स्थानमा पनि स्वास्थ्य मापदण्ड पालना गराउनका लागि कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको जानकारी दिनुभयो।

रङ्गशाला

रङ्गशाला

स्वास्थ्य मन्त्रालयको तयारी के छ ?

केही दिनदेखि नेपालमा कोरोनाभाइरस सङ्क्रमण तीव्र रूपमा बढ्न थालेपछि अब चाँडै नेपालमा अवस्था जटिल बन्न सक्ने जनस्वास्थ्यविद्हरूले बताइरहेका छन्।

त्यस्तो अवस्थामा कोभिडको दोस्रो लहरका बेलामा जस्तै नेपालमा स्वास्थ्य क्षेत्रको अवस्था खराब बन्ने हो कि भन्ने चिन्ताहरू पनि व्यक्त भइरहेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले पनि सङ्क्रमण दर बढिरहेको र अस्पतालमा हुने भर्ना दर पनि बढेकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिरहेका छन्।

“सङ्क्रमण पुष्टि हुनेहरूको सूक्ष्म विश्लेषणका आधारमा सरकारले केही कदमहरू चालिसकेको छ।ूमन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभएको छ,ूअहिलेको बढिरहेको गतिविधिलाई हामीले नजिकबाट नियालिरहेका छौँ। अस्पताल भर्ना दरलाई पनि नियालिरहेका छौँ। सरकारले भोलिका दिनमा त्यसैबाट आएको तथ्यका आधारमा निर्णय लिन्छ र सार्वजनिक गर्छ।”

उहाँका अनुसार सङ्क्रमणको अवस्था हेरेर थप व्यवस्थापन गर्दै जाने मन्त्रालयको योजना रहेको छ।( स्रोतः बीबीसी नेपाली)

Share Now

Leave a comment.