काठमाडौं, २८ पौष । विगत केही दिनदेखि लगातार बढिरहेको नेपालको शेयर बजारमा बुधबार करेक्सन आएको छ ।
यस दिन शेयर बजार परिसूचक ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा बन्द झरेको छ।
तर बुधबार कारोबार रकम भने ८ अर्ब नाघेको छ। यस दिन २ सय २९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्रीबाट ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
घटेको बजारमा यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसबाहेक पञ्चकन्या माइ हाइड्रोपावर र सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। मध्यभोटेकोशी जलविद्युत कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी र नेपाल बंगलादेश बैंकको शेयरको मूल्य पनि अघिल्लो कारोबार दिनको भन्दा बढेको छ ।
यस दिन कारोबारमा आएको हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।त्यसबाहेक तारा गाउँ रिजेन्सी होटल,तेह्रथुम पावर,नेपाल हाइडे डेभलपमेण्ट र मल्टिपर्पोज फाइनान्सको शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन एचआईडिसीएलको २७ करोड, अपि पावरको २४ करोड र अपर तामाकोशीको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १७ करोडको, ड.यादी पावर लिमिटेडको १७ करोडको,हिमालयन डिष्टिलरीको १७ करोडको,निफ्राको १६ करोडको र अरुण भ्यालीको १५ करोडको कारोबार भएको थियो ।
यस दिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको ०.६५ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.०९ प्रतिशत बढेको छ।
यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा, होटल तथा पर्यटन, वित्त र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।


















