Prakash Adhikari January 15, 2022

 

काठमाडौं, १ माघ । नेपाली कांग्रेसले लिपुलेक प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको कुरा उत्तराखण्डमा ३० डिसेम्बरमा सार्वजनिक गर्नुभएको थियो ।

त्यसको ठीक दुई हप्तापछि सत्तारुढ नेपाली कांग्रेसको आधिकारिक धारणा आएको हो

नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको संयुक्त दस्तखतमा आएको प्रेस विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको उल्लेख गर्दै भनिएको छ, “दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।”

नेपाली कांग्रेसले यसबारेमा आफ्नो ७ बुँदे धारणा सार्वजनिक गर्दै भनेको छ,”लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो ।”

उसले यी क्षेत्रमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ भन्ने मान्यता राखेको छ ।

नेपाली कांग्रेसले कालापानीबाट भारतीय सैनिक फिर्ता गर्न पनि माग गरेको छ ।

नेपाली कांग्रेसले नेपालको संसदले सर्वदलीय एकतासाथ संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपालको रहेको र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भनेको छ ।

नेपाल र भारतबीचको सीमा समस्या समाधानको आधार १८१६ को सुगौली सन्धी भएको उल्लेख गर्दै कांगेसले भनेको छ , “दुई राष्ट्र बीचको सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।”

कांग्रेसले भनेको छ, “नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।”

 

Share Now

Leave a comment.