Prakash Adhikari January 15, 2022

काठमाडौं, १ माघ । नेपाली समुदायमा विशेष रुपमा मनाइने माघे संक्रान्तिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिान सम्पूर्ण नेपालीलाई सुस्वास्थ्य,दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

माघे संक्रान्तिको पूर्वसंध्यामा एक शुभकामना सन्देश प्रकाशित गर्दै राष्ट्रपति भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताउनु भएको छ ।

‘सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । हाम्रा धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रितरूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहार पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्छ, राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।

कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आआफ्नो स्वास्थ्यको ख्याल गरी माघी मनाउन पनि राष्ट्रपतिले सबैमा आह्वान गर्नुभएको छ ।

स्वास्थ्य सावधानी अपनाएर मनाउन प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको छ ।

थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनिने पर्वमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको बताउनु भएको छ । विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको उहाँको भनाइ छ ।

यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने पनि प्रधानमन्त्री देउवाले विश्वास लिनुभएको छ ।

सामाजिक सदभाव र एकता अभिबृद्धिको अपेक्षाः अध्यक्ष तिमिल्सिना 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा रहेका चाडपर्वले हाम्रो देशलाई सुपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।

‘हामी नेपालीबीच मनाइने यी र यस्ता पर्वले संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गरी सामाजिक सदभाव कायम गर्दै एकताको सन्देश दिन सक्नु पर्दछ,’ तिमिल्सिनाले शुभकामना सन्देशमा भन्नुभएको छ । माघी, मकर संक्रान्ति, माघे संक्रान्ति र किराँत संवत्‌को नयाँ वर्षले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्दै आरोग्य जीवन प्राप्तिको कामना पनि उहाँले गर्नुभएको छ ।

माघे संक्रान्ति, माघी पर्व, तिलुवा संक्रान्ति, मकर संक्रान्ति, किराँत येले संवत्‌को नयाँ वर्ष आज मनाइँदैछ । आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ ।

यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ ।

अर्कोतर्फ सूर्यको उत्तरी र दक्षिणी धुव्रको अवस्थितिको आधारमा यसको गणना र मापन गरिन्छ । आजबाट सूर्य उत्तर दिशातर्फ सर्दै जाने र उत्तरी गोलार्ध्द सरेपछि सूर्यको न्यानोपना बढ्दै जाने विश्वास गरिन्छ र सूर्य मकर राशीमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । प्रथम किराँत राजा यलम्बर हाङको स्मृतिमा यस दिनलाई किराँत येले संवत्‌को नयाँ वर्षको रुपमा पनि मनाइन्छ ।

 

Share Now

Leave a comment.