Prakash Adhikari January 19, 2022

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थका आपूर्ति सहज बनाईराख्न आफूलाई १२ अर्ब रुपैया खाँचो परेको जनाएको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगामी ३ महिना पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइराख्न त्यति रकम आवश्यक भएको जनाउनुभएको हो ।

निगमले आगामी दिनमा मूल्य समायोजन नै भएपनि मासिक ४ अर्ब घाटा हुने भएकोले त्यति रकम आवश्यक पर्ने जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार निगमले हालसम्मको नोक्सानीको व्यवस्थापन निगमको वचतमा रहेको संचित मुनाफा, मूल्य स्थिरिकरण कोषमा दाखिल गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनश लगायत अन्य प्रयोजनका लागि छुट्टयाईराखिएको रकमबाट इण्डियन आयल कर्पोरेशनलाई संझौता अनुरुप भुक्तानी गरी देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राखेको छ ।

तर अब निगमसंग संचित बचत शून्यको अवस्थामा पुगेकोले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थिति देखिएको छ ।

निगमले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा १९ अर्ब २६ करोड घाटा ब्यहोरिसकेको जनाउदै भनेको छ यदि जनवरी १६, २०२२ मा प्राप्त नयाँ मूल्य अनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा निगमले थप रु २ अर्ब २४ करोड घाटा व्यहोरी यस आर्थिक बर्षको माघ १७ , २०७८ सम्ममा रु २१ अर्ब ५० लाख घाटा व्यहोर्नुपर्ने अवस्था देखिन्छ ।

निगमले ६ महिनाको अवधिमा इण्डियन आयल कर्पोरेशनबाट १२ पटक नयाँ मूल्य दर प्राप्त भएको तर निगमले जम्मा ३ पटक मूल्य समायोजन गरेको जनाएको छ ।

निगमले पेट्रोलमा प्रति लिटर रु १३।१८ पैसा,डिजेलमा प्रति लिटर रु ८ । ८१ पैसा र एलपीजी ग्यासमा प्रति सिलिण्डर रु ६४६।१६पैसा घाटामा बेच्नुपरेको जनाएको छ । तर मट्टितेलमा प्रतिलिटर रु. २०।५० पैसा र हवाई इन्धनमा रु. १४।७३ पैसा प्रतिलिटर फाइदा भएको जनाएको छ ।

आयल निगमले अहिले पेट्रोल ७९।४० रुपैयाँ, डिजेल ७८।१८ रुपैयाँ, मट्टीतेल ७०।३० रुपैयाँ, हवाई इन्धन ७३।४७ रुपैयाँ प्रतिलिटर र ग्यास १ हजार ६ सय ४ रुपैयाँ ११ पैसा प्रतिसिलिन्डरमा खरिद गर्दै आएको छ । यसमा कर, निगमको खर्च, ढुवानी खर्च, व्यवसायीको कमिसनलगायत जोड्दा लागत मूल्य नै पेट्रोलमा १४९।१८ रुपैयाँ, डिजेलमा १२७।८१ रुपैयाँ, मट्टीतेलमा ९८।५० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ९४।६२ रुपैयाँ र बाह्य हवाई इन्धनमा ०.८९५ डलर प्रतिलिटर पर्न जाने निगमले जनाएको छ ।

ग्यासको लागत मूल्य २ हजार २ सय २१ रुपैयाँ १६ पैसा हुन आउँछ । हाल निगमले पेट्रोल प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टीतेल १ सय १९ रुपैयाँ, एटीएफ १ सय १ रुपैयाँ, एलपी ग्यास १ हजार ५ सय ७५ रुपैयाँमा बिक्री गर्दै आएको छ । मट्टीतेल र हवाई इन्धन नाफामा र पेट्रोल, डिजेल र ग्यास घाटामा बिक्री गर्नुपर्दा संस्था आर्थिक नोक्सानीमा गएको निगमले जनाएको छ ।

निगमले अहिले पनि नेपालमा पेट्रोलियम पदार्थ भारतमा भन्दा सस्तो भएको जनाएको छ । निगमका अनुसार भारतीय सीमाबजार रक्सौलको तुलनामा बीरगञ्जमा पेट्रोल रु ३८।०३, डिजल रु ३१।१२ ले सस्तो र एलपीजी ग्यास प्रतिसिलिण्डर रु ५०। ६५ले सस्तो, र हवाई इन्धन आन्तरिक तर्फ भारतको कोलकोत्तामा भन्दा प्रतिलिटर रु ३२ ।९६ ले सस्तो भएको जनाएको छ ।

तत्काल मूल्य समायोजन नगरेमा निगमलाई आगामी १५ दिनमा थप २ अर्ब २४ करोड घाटा हुने देखिएको छ ।

Share Now

Leave a comment.