काठमाडौं, ८ माघ । नेपाल आयल निगमले तेल किन्नका लागि मूल्य स्थिरीकरण कोषको रकम चलाउने निर्णय गरेको छ ।
निगमले इण्डियन आयल कर्पोरेशनलाई तेल किन्नका लागि भुक्तानी गर्नुपर्ने रकम जुटाउने क्रममा मूल्य स्थिरीकरण कोषको १ अर्ब ८० करोड रुपैयाँ चलाउने निर्णय गरेको हो।
निगमले आइतबार इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई दोस्रो किस्ता बुझाउनुपर्नेछ।
त्यो किस्ता बुझाउन रकम अभाव भएपछि उद्योग सचिव दिनेश भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यो रकम दिने निर्णय गरेको हो।
निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएपनि अझै १५ दिनको मात्रै नोक्सानी १ अर्ब ८८ करोड रुपैयाँ हुने देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर निगमको नोक्सानी बढेपछि पेट्रोलियम पदार्थको नियमित आपूर्तिको लागि तेल खरिदको किस्ता रकम बुझाउन निगमलाई हम्मे हम्मे पर्दै आएको छ ।


















