काठमाडौं, ८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन्।
अष्ट्रेलियामा जारी बिग बास लिग टी २० क्रिकेटमा सहभागी भएर सन्दीप शुक्रबार राति स्वदेश फर्किएका हुन्।
अघिल्लो महिना नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई टीमको कप्तान नियुक्त गरेको थियो।
ओमानमा हुने आईसीसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटका लागि बीबीएल नसकिँदै राष्ट्रिय टीमका कप्तान स्वदेश फर्किएका हुन्।
त्रिभुवन विमानस्थलमा ओर्लेपछि राष्ट्रिय टोलीका युवा खेलाडीको बाहुल्यता रहेको बताउँदै आफूलाई सहकार्य गर्न कुनै कठिनाई नहुने बताएका थए। उनले राष्ट्रकालागि खेलिने खेलमा सबै खेलाडी एकजुट भएर खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले नेपालको प्रतिष्ठासंग जोडिएको ग्लोबल क्वालिफायरमा अभूतपूर्व टिम स्पिरिटले खेलिने बताए ।
जुनसुकै खेलाडीको लागि पनि पहिलो प्राथमिकता आफ्नै देश हुने भएकोले नेपालले खेल्ने प्रतियोगिताको तयारीका लागि बिग ब्यास लिग छोडेर आएको सन्दीपको दावी छ।
उनले क्रिकेटभित्र देखिएको क्षणिक विवाद साम्य भैसेकेकामा खुसी लागेको बताए।
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले छनोटका लागि सन्दीपको कप्तानीमा अन्तिम टिम घोषणा गरिसकेका छन्। अब सन्दीप नेपाली टोलीको बन्द प्रशिक्षणमा संलग्न हुनेछन्।
बिग ब्यास लिगमा सन्दीप संलग्न होबर्ट हुरिकेन्स अंकतालिकामा पाँचौ स्थानमा रहँदै प्लेअफ चरणमा पुगेको छ। होबार्टले १४ खेलमा ७ जित र ७ हारसहित २७ अंक बटुल्यो। होबार्टले शुक्रबार एडीलेड स्ट्राइकर्ससंग इलिमिनेटरमा पराजित भएको छ ।
बुधबार लिगको अन्तिम खेल खेलेपछि सन्दीपले आफ्नो समर्थकहरुलाई भनेका थिए “हरिकेन्सको फ्यानहरु, म सन्दीप। दुर्भाग्यवस यो मेरो सिजनको अन्तिम खेल थियो। अर्को वर्ष उत्कृष्ट पुनरागमन गर्नेमा आशावादी छु। म नेपालमा रहेर आफ्नो टिमलाई फाइनलमा सपोर्ट गर्नेछु। नेपालमा रहेता पनि मेरो मुटु होबार्टमा हुनेछ। समर्थनको लागि सबैलाई धन्यवाद।”
यस सिजनको बिग ब्यास लिगको सुरुका ६ खेलमा जम्न नसकेका सन्दीप त्यसपछिका बाँकी ८ खेलमा १२ विकेट लिए। मेलबर्न रेनेगेड्स बिरुद्ध एकै खेलमा उनले ३ विकेट लिए। यस्तै एडीलेड, ब्रिसबेन, सिड्नी, मेलबर्न बिरुद्ध उनले दुई । दुई विकेट लिए।
कुल १४ खेल खेल्दा सन्दीपले १४ विकेटनै लिए। यस क्रममा उनले ७.७९ रन प्रतिओभर खर्चिए। प्रतियोगितामा धेरै विकेट लिने स्पिनरमा राशिद खान (२० विकेट) र एस्टन एगर (१५ विकेट) पछि तेश्रो स्थानमा रहे नेपाली कप्तान ।
नेपालको पहिलो खेल ओमानसंग
ओमानमा हुने ग्लोबल टी २० विश्वकप छनोट प्रतियोगिताको खेल तालीका सार्वजनिक भैसकेको छ । नेपालले पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्ने छ। खेल नेपाली समय बिहान ११ः४५ बजे सुरु हुनेछ यस्तै दोश्रो खेल फिलिपिन्ससंग फेब्रुअरी १९ तारिखमा अल अमिरात क्रिकेट मैदानमा खेल्नेछ। खेल नेपाली समय बिहान ११ः४५ बजे सुरु हुनेछ। तेश्रो खेल क्यानडासंग फेब्रुअरी २१ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्नेछ। खेल नेपाली समय बेलुका ३ः४५ बजे सुरु हुनेछ।
ओमानमा आगामी महिना फेब्रुअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालिफायर ‘ए’ प्रतियोगिता हुँदैछ। प्रतियोगितामा नेपाल सहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन्।
ग्लोबल छनोट (ए)मा सहभागी आठ टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ। नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। अर्को समूहमा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन्। समूह चरणमा सबै टिमले एकअर्कासंग एक एक खेल खेलेपछि समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। दुईवटा सेमिफाइनलको विजेता टिम फाइनल पुग्नेछ भने टी२० विश्वकप २०२२ को लागि समेत छनोट हुनेछ।
समुह ‘ए’ : नेपाल, ओमान, फिलिपिन्स र क्यानडा
समुह ‘बि’ : युएई, बहराइन, आयरल्याण्ड र जर्मनी
नेपाल र ओमान : फेब्रुअरी १८ , ११ः४५ बजे बिहान )ओमान क्रिकेट एकडेमी मैदान )
नेपाल र फिलिपिन्स : फेब्रुअरी १९, ११ः४५ बजे बिहान (अल अमिरात क्रिकेट मैदान )
नेपाल र क्यानडा : फेब्रुअरी २१, ३ः४५ बजे ( ओमान क्रिकेट एकडेमी मैदान )
नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दासानायकले टी २० विश्वकप ग्लोबल क्वालिफायरको लागि राष्ट्रिय क्रिकेट टीमका नवनियुक्त कप्तान सन्दीप लामिछानेको नेतृत्वमा कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, आरिफ शेख, कुशल मल्ल, बिबेक यादव, प्रदीप ऐरी, लोकेश बम, करन केसी, अविनाश बोहरा, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम रहेको टिम घोषणा गरिसक्नुभएको छ ।
यसै वर्ष अक्टोबर १६ तारिखदेखि अस्ट्रेलियामा टी २० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। उक्त प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित २०२१ टी २० विश्वकपको प्रदर्शनको आधारमा १२ टिम छनोट भैसकेका छन्।
जसमा भारत, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्टइन्डिज छन।
टी २० विश्वकप २०२२ मा कुल १६ टिम सहभागी हुनेछन् जसमध्ये अब चार टिमको टुंगो लाग्न बाँकी छ। त्यसको लागि विश्वकप ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिंदै छ ।
ग्लोबल क्वालिफायरमा १६ टिमलाई दुई समूहमा विभाजन गरेर दुई वटा ग्लोबल क्वालिफायर खेलाइनेछ। दुवै प्रतियोगिताबाट दुई दुई टिम टी २० विश्वकप २०२२ मा छनोट हुनेछन्।
सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी २० विश्वकप खेलेपछि नेपाल टी २० विश्वकपमा छनोट हुन सकेको छैन। २०१५ को टी २० विश्वकप क्वालिफायरमा कमजोर प्रदर्शन गरेको नेपाल २०२१ टी २० विश्वकपको एसिया छनोटबाटै बाहिरिएको थियो।
यस पटक नेपाल टी २० अन्तर्राष्ट्रिय वरियताको आधारमा सोझै ग्लोबल छनोटमा पुगेको हो।


















