Prakash Adhikari January 26, 2022

 

काठमाडौं, १२ माघ । राष्ट्रिय सभामा रिक्त हुने २० सदस्यको पदमध्ये आज १९ पदका लागि निर्वाचनको मतदान सुरु भएको छ।

बिहान ९ बजेदेखि सातै प्रदेशमा रहेका मतदान स्थलमा मतदान सुरू भएको हो।

आज अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको निर्वाचन आयोगले जनाएको छ।

सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान भएका छन्। मतदाता कोरोना संक्रमित भए पनि मतदान गर्न पाउनेछन्।

स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य गरी कूल २ हजार २५ जना मतदाताले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाउनेछन्।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनमा स्थानीय तहका १ हजार ४ सय ९३ र प्रदेशसभाका ५ सय ३२ मतदाता रहने छन्।

रिक्त १९ पदका लागि सत्तागठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमालेसमेत गरी १२ दलले उम्मेदवार उठाएका छन्।
सत्तागठबन्धनका ५ दलले १९ पद भागबन्डा गरेर उम्मेदवारी दिएका छन् भने एमालेले १९ पदमै उम्मेदवार उठाएको छ।

अरू दलले भने सबै प्रदेशमा उम्मेदवार उठाएका छैनन्। राप्रपाले प्रदेश १ मा आफ्ना उम्मेदवारलाई भोट दिन र अन्यत्र मतदानमा सहभागी नहुन निर्देशन दिएको छ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन्।

रिक्त १९ पदका लागि विभिन्न दलबाट ४३ जना उम्मेदवार छन्। मतदान सकिएपछि आजै मतगणना गर्ने तयारी छ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।

Share Now

Leave a comment.