न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १८ माघ(बीबीसी) । युक्रेनसँगको आफ्नो सिमानामा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बैठक बोलाएपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको छ।
राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताउनुभयो।
उहाँका रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप लगाउनुभयो।
रुसले युक्रेनमा आक्रमण गरे अमेरिका र ब्रिटेनले थप प्रतिबन्ध लगाउने वाचा गरेका छन्।
प्रतिबन्धका तयारी
ब्रिटिश विदेशमन्त्री लिज ट्रसले क्रेमलिन नजिकका व्यक्ति र व्यवसायको अहिलेको भन्दा व्यापक दायरालाई समेट्ने गरी कानुन तयार भइसकेको बताउनुभएको छ ।
एकजना अमेरिकी अधिकारीका भनाइमा वाशिङ्टनले क्रेमलिन नजिकका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्ने खाले प्रतिबन्ध लगाउन सक्नेछ।
रुसले युक्रेनी सीमा नजिकै करिब एक लाख सेना, ट्याङ्क र क्षेप्यास्त्रहरू राखेको छ।
सोमवारको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा राष्ट्रसङ्घका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले रुसले युक्रेनविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाइरहेको छ भन्ने कुनै प्रमाण नभएको बताउनुभयो।
उहाँले त्यसका लागि सेना खटाइएको भन्ने कुराको संयुक्त राष्ट्रसङ्घद्वारा पुष्टि पनि नगरिएकोमा जोड दिनुभयो।
रुसले के भन्यो ?
रुसले आफ्नै क्षेत्रमा सेनाको तैनाथी गर्ने गरेको भन्दै त्यो वाशिङ्टनको सरोकारको विषय नै नभएको उहाँ
रुसले उक्त संयुक्त राष्ट्रसङ्घीय निकायको खुला बैठक सत्रलाई अवरुद्ध गर्ने प्रयास गरेको थियो। तर उसको प्रयास असफल भयो।
नेबेन्ज्याले बाइडेन प्रशासनले तनाव र बयानबाजी गर्दै उक्साएको बताउनुभयो।
उहाँले भन्नुभयो, “यो हाम्रो देशको आन्तरिक मामिलामा अस्वीकार्य हस्तक्षेप मात्र होइन, यस क्षेत्रको वास्तविक अवस्था र वर्तमान विश्वव्यापी तनावका कारणबारे अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित गर्ने प्रयास पनि हो।”
अमेरिकी चेतावनी
उहँकी अमेरिकी समकक्षी थोमस ग्रीनफिल्डले अमेरिकाले कूटनीतिक समाधानमा विश्वास जारी राखेको बताउनुभयो।
तर यदि रूसले युक्रेनमा आक्रमण गरेमा अमेरिकाले निर्णायक कदम चाल्ने र त्यसको नतिजा भयानक हुने उहँले चेतावनी दिनुभएको छ।
“यो युरोपमा दशकौँको सबैभन्दा ठूलो!!! सेना परिचालन हो”, उहाँले भन्नुभयो।,”रूसले ती सेनाहरूसँग सामेल हुन अझ बढी सेना र हतियारहरू पठाउँदैछ।”
मस्कोले युक्रेनको उत्तरी सिमानामा रहेको छिमेकी बेलारुसमा तैनाथ आफ्नो फौजलाई ३० हजार पुर्याउने योजना बनाएको उहाँले दाबी गर्नुभयो।
यसैबीच कूटनीतिक प्रयास पनि जारी छ।
रुसी राष्ट्रपति पुटिनले सोमवार फ्रान्सेली राष्ट्रपतिसँग फोनमा कुराकानी गर्नुभएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभसँग मङ्गलवार वार्ता गर्दै हुनुहुन्छ।


















