Prakash Adhikari February 1, 2022

काठमाडौंं, १८ माघ । मौरिससविरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी भएको छ।

मंगलबार अपरान्ह दशरथ रंगशालामा भएको खेलमा पनि नेपालले मौरिससलाई शून्यका विरुद्ध एक गोलले हराएको हो।

आज खेलको दशौँ मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितका लागि निर्णायक बन्यो।

मिडफिल्डर सुजलले पुजन उपरकोटीको पासमा बललाई गोलपोष्टमा पुर्याएका थिए।
कर्नरमा आएको बललाई आशिष लामाले प्रहार गरेको बललाई पुजनले अघि बढाइदिएपछि पोष्टको नजिक रहेका सुजलले गोलमा परिणत गरेका थिए।

राष्ट्रिय टोलीबाट सुजलको त्यो तेस्रो गोल हो।

खेलमा सुजलको गोल लगत्तै १२ औँ मिनेटमा मौरिससले खेललाई बराबरी गर्ने अवसर पाएपनि सफल हुन सकेन।

पेनाल्टी बक्समा नेपाली खेलाडीको ह्याण्ड भएपछि मौरिससले पेनाल्टीको अवसर पाएको थियो।

मौरिससका कप्तान एन्डी सोफीले पाएको पेनाल्टी प्रहार नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले बचाएका थिए।

नेपालले पनि बारम्बार गोल गर्ने अवसर चुकाएको थियो ।

खेलको २२ औँ मिनेटमा एरिक विष्टको प्रहार गोल पोष्टभन्दा थोरै बाहिरबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर गर्नै मौका गुमायो।

३६ औँ मिनेटमा तेज तामाङले ३० यार्ड टाढाबाट गरेको प्रहार बाहिरियो।

३९ औँ मिनेटमा फर्नान्डो ज्याक्सनको प्रहार गोलरक्षक चेम्जोङले बचाए।

खेलको ६८ औँ मिनेटमा मौरिससका कप्तान एण्डी सोफीको प्रहार गोलरक्षक चेम्जोङले उत्कृष्ट बचाउ गरे।
७० औ मिनेटमा नेपालका फरवार्ड अन्जन विष्टलाई एन्ड्री बोटलरले फाउल गरेपछि खेल केहीबेर तनावपूर्ण बनेको थियो।

त्यो घटनामा दुवैतर्फका खेलाडीले विपक्षी खेलाडीलाई धक्का दिएका थिए। त्यसपछि रेफ्री नविन्द्र महर्जनले मौरिससका एन्ड्री र नेपालका पुजनलाई दोहोरो पहेँलोपछि रातो कार्ड देखाउँदा दुवै टोली १० खेलाडीमा सीमित भए।

खेलाडीलाई सम्झाउन मैदान छिरेका नेपालका गोलरक्षक प्रशिक्षक विकास मल्लले पनि रातो कार्ड पाए।

दोस्रो हाफको ३६ औँ मिनेटमा ईमान्युल फोलच्युन्डले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि मौरिसस ९ खेलाडीमा सीमित बन्न पुग्यो।

ईमान्युलले नेपालका डिफेन्डर गौतम श्रेष्ठलाई खराब ट्याकल गरेपछि उनले रातो कार्ड पाएका थिए। खेलको अन्त्यतिर फ्लड लाइटको प्रकाश कम भएर केही समय खेल स्थगित भएको थियो।
यस पहिले शनिबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा पनि मौरिससलाई नेपालले शून्यका विरुद्ध एक गोलले पराजित गरेको थियो । उक्त खेलमा विमल घर्तीमगरको एक गोल नै निर्णायक भएको थियो ।

अफ्रिकी मुलुकसँग नेपालले पहिलो पटक अन्तरष्टिय मैत्रिपूर्ण खेल खेलेको हो।

Share Now

Leave a comment.