काठमाडौं, १८ माघ । इण्डियन प्रिमीयर लिग (आईपीएल) २०२२ को मेगा अक्सनमा नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने छनोट भएका छन् ।
यस बर्षको आईपीएल खेल्न नेपालबाट १५ जनासहित १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको थिए । छनोट समितिले ती मध्येबाट ५ सय ९० जना खेलाडीलाई पहिलो चरणमा छनोट गरेको छ।
पहिलो चरणको छनोटमा एसोसिएट राष्ट्रबाट मात्र ७ जना क्रिकेटर उक्त सूचीमा छन् भने नेपालबाट क्याप्टेन सन्दी लामिछाने मात्र ।
छनोटमा परेका ५ सय ९० खेलाडी मध्ये ४८ जना खेलाडीले आफ्नो अधिकतम पारिश्रमिक २ करोड भारु राखेका छन् भने २० जना खेलाडीले १.५ करोड भारु । त्यस्तै ३४ जनाले १ करोड भारु पारिश्रमिक राखेका छन्। नेपालका क्याप्टेन सन्दीपले आफ्नो पारिश्रमिक ४० लाख भारु अर्थात् ६४ लाख नेपाली रुपैयाँ राखेका छन्। सन्दीपले यस अगाडिका तीन सिजन २० लाख भारु अर्थात ३२ लाख नेपाली रुपैयामा खेलेका थिए ।
गत वर्ष भएको आईपीएलको मिनी अक्सनमा पनि सन्दीपले आफ्नो पारिश्रमिक ४० लाख भारु राखेका थिए तर उनलाई कुनै टिमले लिएका थिएनन् ।
२०१८ मा आईपीएलमा डेब्यु गरेका सन्दीपले दुई सिजनमा कुल ९ खेल खेल्दा १३ विकेट लिएका थिए। तर अन्तिम बर्ष २०२० मा उनलाई मैदानमा उत्रने मौका नदिएकोले अर्को बर्ष उनी खेल्दै आएको दिल्ली क्यापिटल(पहिलेको डियर डेभिल्स)ले उनलाई रिलिज गरेको थियो।
अष्ट्रेलियाको बिग ब्यास लिगमा सन्तोषजनक प्रदर्शन गरेका सन्दीपले १४ खेलमा १४ विकेट लिएका थिए ।
आईपीएलमा यस बर्षदेखि दुई नयाँ टिम अहमदावाद र लखनउ थपिएका छन् । यसैले पनि सन्दीपको आईपीएलमा छनोट हुने सम्भावना बढेको छ।
आइपीएलको अन्तिम अक्सन फेब्रुअरी १२ तारिखमा हुँदैछ ।


















