काठमाडौं, २१ माघ । नेपालमा विगत २४ घण्टामा २ हजार ५ सयभन्दा केही बढी मानिसमा कोरानाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पुसको अन्तिम सातादेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्या यो सातादेखि ओरालो लाग्न थालेको देखिन्छ।
विज्ञहरूले यस पटक अस्पतालमा भर्ना हुने सङ्क्रमितहरूको सङ्ख्या विगतको तुलनामा कम भएको बताउँदै एकाध हप्तामा अवस्था सामान्य बन्न सक्ने जनाएका छन्।
कोभिडको बढ्दो सङ्क्रमणका कारण माघको सुरुमा अवरुद्ध भएका कतिपय परीक्षाहरू फाल्गुन महिनाको पहिलो साताबाट सुरु गर्ने त्रिभुवन विश्वविद्यालयले बताएको छ।
कति सङ्क्रमित थपिए
विगत २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ।
सो अवधिमा ८ हजार ४ सय २५ जना सङ्क्रमणमुक्त भएको तथ्याङ्कले देखाएको छ।
अहिले थप १६ जनाको कोभिडका कारण मृत्यु भएको विवरण मन्त्रालयले दिएको छ।
अहिलेको वृद्धिसँगै देशभरि पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ हजार ४ सय ५७ रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
ओमिक्रोन भेरिअन्ट ओरालोतिर
केही दिनअघि देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो।
माघ ६ गते १२ हजार ३ सय ३८ नयाँ सङ्क्रमित थपिएको तथ्याङ्क दिएको सरकारले माघ ११ गते थप १२ हजा ८ जनामा सङ्क्रमण पुष्टि भएको बताएको थियो।
तर पछिल्ला दिनहरूमा दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको तथा पहिला फेला परेका सङ्क्रमित निको हुने क्रम बढेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।
कहाँ कति सङ्क्रमित
मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा ७ सय ४५ नयाँ सङ्क्रमित थपिएका छन्।
तीमध्ये ५ सय ७० काठमाडौंमा, ५५ भक्तपुरमा र १ सय २० ललितपुर जिल्लामा भेटिएका हुन्।
शुक्रवार २ सय ४३ आईसीयूमा र ५१ जना भेन्टिलेटरमा उपचार गराइरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा ६ हजार ६ सय ५५ पीसीआर र ४ हजार ४ सय १८ एन्टिजन विधिबाट गरी कुल ११ हजार ७३ वटा परीक्षण भएका थिए।
तीमध्ये पीसीआर गरिएका २४.०७ प्रतिशत र एन्टिजन विधिबाट गरिएका २०.९१ प्रतिशत नमुनामा सङ्क्रमण देखिएको हो।
विज्ञहरूका अनुसार नेपालमा अहिले अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो।
चाँडै फैलिने भए पनि अधिकांश सङ्क्रमित व्यक्तिमा मध्यम खालका लक्षण देखिने गरेका छन्।
अहिलेको तथ्याङ्कले के देखाउँछ ?
इपिडिमिओलोजि तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौड्यालका अनुसार पछिल्लो समयमा परीक्षण गरिएका नमुनामध्ये ३० देखि ४० प्रतिशतमा सङ्क्रमण पुष्टि भइरहेको छ।
उहाँले भन्नुभयो, ूपुस मसान्तदेखि तीव्र दरमा सङ्क्रमण बढिरहेको थियो। यो बीचमा कुनै बेलामा परीक्षण गरिएका मध्ये ५२ प्रतिशतसम्म नमुना पोजिटिभ रहेको पाइएको थियो। अहिले जति परीक्षण गरिएको छ त्यसमध्ये ३० देखि ४० प्रतिशतमा सङ्क्रमण पाइएको छ।ू
सङ्क्रमण घटिरहेको जस्तो देखिएको भए पनि अझै केही साता हेरेर मात्रै अवस्था कता जान्छ भन्न सकिने उहाँले बताउनुभयो।
“अहिले पनि विभिन्न किसिमका भेरिअन्टहरूको प्रभाव देखिराखिएको छ। पछि आउने भेरिअन्ट अझ सङ्क्रामक पनि हुनसक्छ। त्यही भएर हामीले अझै सचेत हुनुपर्छ र तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।”
सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ डा. शेरबहादुर पुनले स्वास्थ्य निकायहरूले भन्नुभन्दा पहिला नै ओमिक्रोन समुदाय स्तरमा पुगेको उल्लेख गर्दै अब सङ्क्रमण ओरालो लाग्न थालेको बताए।
उहाँले भन्नुभयो, “यो अब ओरालो लाग्छ। अब फेरि १२ हजार नाघ्ने सम्भावना म देख्दिनँ। किनभने धेरै जनालाई सङ्क्रमण भइसक्यो।”
डा. पुनले सामान्य रुघाखोकीजस्तो लक्षण भएकाले समुदायमा सङ्क्रमण देखा पर्दा समेत धेरै जना व्यक्तिहरू झुकिएको र अस्पताल नगएको बताउनुभयो।
अहिले पनि धेरै जना सङ्क्रमितहरू घरमै बसिरहेको अवस्था रहेको उहाँको भनाइ छ।
कोभिड खोप लिएकी एक वृद्धा
ओमिक्रोन भेरिअन्ट अघिल्लो भेरिअन्ट भन्दा छिटो निको हुने भन्दै आगामी हप्ताबाट सङ्क्रमणको विस्तार अझ कमजोर बन्न सक्ने उहाँले टिप्पणी गर्नुभयो।
स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरिअन्टले दीर्घरोगी र खोप नलगाएका व्यक्तिहरूलाई जोखिममा पारेको भन्दै खोप लगाउन सबैसँग अपील गरेका छन्।
नेपालमा कोरोनाभाइरस महामारी सुरु भएपछि यो लहरमा पहिलो पटक एकैदिन पुष्टि भएका सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको थियो।
सरकारी निकायले महामारी उत्कर्षमा पुग्दा एकैदिन २० हजार जनासम्म सङ्क्रमित भेटिने अनुमान गरेको थियो।


















