Prakash Adhikari March 11, 2018

काठमाडौं, २५ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर संघका तर्फबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदको लागि निर्वाचनमा पूर्व उपाध्यक्ष किशोर प्रधान विजयी भएका छन् ।

शुक्रबार विहान ११ बजेदेखि २ बजेसम्म भएको निर्वाचनमा १०४ मतदातामध्ये ९८ जनाले मतदान गरेका थिए। उनको पक्षमा ६५ र उनका प्रत्यासी निरक केसीको पक्षमा ३३ मत खसेको छ।

गत वर्ष सम्पन्न महासंघको निर्वाचनमा जिल्ला/नगर उपाध्यक्ष भएका प्रमोदकुमार श्रेष्ठ स्थानीय तहको निर्वाचनमा भाग लिन भन्दै म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा चुनाव लड्न गएपछि यो पद रिक्त थियो।

महासंघले गत भदौ १९ गते नै रिक्त स्थानका लागि निर्वाचन गर्ने निर्णय गरेको भएपनि श्रेष्ठले आफूलार्इ गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले तत्काल निर्वाचन नगराउन भनेपछि विशेषसभा स्थगित भएको थियो। लामो समयपछि फेरि महासंघले चुनावको तयारी गरेको थियो। यसलाई रोक्न भन्दै श्रेष्ठले साधारणसभा रोक्न माग गर्दै रिट निवेदन हालेका थिए। सर्वोच्चले बुधबार श्रेष्ठको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि शुक्रबार चुनाव तय भएको थियो।

Share Now

Leave a comment.