Prakash Adhikari March 11, 2018

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारलाई हनिमुन मनाउन दिने बताएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि राखेको प्रस्ताव उपर बोल्दै नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छ्दारले सो जानकारी दिएका हुन् ।
कांग्रेसको तर्फबाट बोल्दै नेता गच्छदारले सत्ता पक्ष र प्रतिपक्ष विनाको सदन नहुने बताउदै नेपाली कांग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा रहने बताएका हुन्।

उनले सरकारको गुण दोषका साथै विषयको गाम्भिर्यको आधारमा नेपाली कांग्रेसले सरकारले ल्याएका नीति तथा कार्यक्रम र योजनाहरुका साथै कानुन र नियमहरुको पक्ष पक्ष विपक्षमा उभिने जानकारी गराए।

उनले यसअघि प्रतिपक्षमा रहँदा कांग्रेसले खेलेको जस्तै सशक्त र जिम्मेवारीपूर्ण भूमिका संसदमा निर्वाह गरिने दावी गरे ।

नेता गच्छ्दारले नेपाली जनताले पाउँने अधिकार संविधानबाट पाइसकेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो वाचा अनुसार काम गर्नुपर्ने सुझाव पनि दिएका थिए ।

नयाँ सरकारका लागि कामको योजना बनाउन र थालनी गर्न १०० दिन अर्थात तीन महिनाको समय प्रतिपक्षीले संयम अपनाउने चलन विश्वभर छ । यसै समयलाई सरकारको मधुमास वा हनिमुन पिरियड पनि भनिन्छ ।

पार्टीको संंसदीय दलको नेता निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले पहिलो दिनदेखि नै पूर्वाग्रही ढंगले काम गरेकोले सरकारलाई हनिमूनको सुविधा दिन नसकिने बताएका थिए ।

तर संसदमा संसदीय दलका उपनेता गच्छदारले प्रधानमन्त्री ओलीलाई हनिमून मनाउन दिने वचन दिनुभएको छ । यसको अर्थ अबका करिब दुई महिना ओली सरकारले ढुक्कसंग काम गर्न पाउनेछ ।

Share Now

Leave a comment.