Prakash Adhikari March 11, 2018

काठमाडौं,२७ फागुन । निजी क्षेत्रबाट सञ्चालित नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।

एयरलाइन्सले विगतका दुई वर्ष महत्वपूर्ण उपलब्धिसहित उड्डयन क्षेत्रमा स्थापित गर्ने र गुणस्तरीय सेवा दिने भरपर्दो वायुसेवा सावित गराउने वर्ष बनेको निश्कर्ष निकालेको छ ।

तीनवटा ए३२० एयरबसका जहाजहरु मार्फत अन्तराष्टिय उडान सञ्चालन गरिरहेको यस एअरलाइन्सले दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) २०१७ मा दक्षिण एसियाको “प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्डबाट पनि सम्मानित भएको छ ।

हिमालय एअरलाइन्स उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एअरलाइन्स नेपालको निजी क्षेत्रको दु«त गतिमा अगाडि बढेको र सर्वोत्कृष्टता हासिल गर्न सदैव प्रयासरत एक अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा स्थापित भएको बताए ।

उनले उडानहरुको समयबद्धता, प्रभावकारिता, विश्वसनीयता, उच्च सुरक्षा व्यवस्था, यात्रुहरुको सेवा सहित सहज हवाईयात्रा सुनिश्चित गर्ने कार्यमा व्यवस्थापन र सहयोगी कर्मचारीहरु सधै सचेत रहेको उल्लेख गर्दै यसमा सहयोग र विश्वास गर्ने सम्पूर्ण यात्रुहरु, शुभचिन्तक,प्राविधिक, उडान कर्मचारी र प्रशासन लगायतका सबैको साथ र सहयोग रहको उल्लेख गरे ।

एअरलाइन्स व्यवस्थापनले सुरक्षालाई प्रमुख उत्तरदायित्व तथा आफ्ना कर्मचारीहरूको हौसला बढाउने तत्वको रुपमा पहिचान गरेको छ ।

नेपालको कान्छो अन्तर्राष्ट्रिय विमान सेवाले विश्वव्यापी सुरक्षा मापदण्डहरूको अवलम्बन गर्दै तथा त्यसलाई कायम राख्ने सफलता पनि पाएको छ । यसको सत्प्रयासलाई आइकाओ, जिएसिए, सिएएसी र सिएएबी जस्ता विभिन्न नागरिक उड्डयन संस्थाले सन् २०१७ मा गरिएका अडिटहरुबाट अनुमोदन गरिसकेको एयरलाइन्सले जनाएको छ ।


तेस्रो वार्षिकोत्सवको अवसरमा एअरलाइन्सले सोशल मिडिया क्वीजको सुरुवात पनि गरेको छ । यो फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा जारी रहनेछ ।

सहभागीहरुलाई एअरलाइन्सको सोशल मिडिया पेजमा सेयर गरिएको लिंकमा क्लिक गरी हिमालय एअरलाइन्सको कुनै पनि गन्तव्यमा राउन्ड ट्रिप टिकट जित्ने मौकामा सामेल हुन आह्वान गरिएको छ । प्रतियोगिता मार्च १९, २०१८ सम्म मात्र रहने छ ।

एअरलाइन्सले वार्षिकोत्सवकै दिन दोहा, दुबई र क्वालालम्पुरका लागि यात्रा गर्ने यात्रुहरुसँग पनि जहाजभित्रै रेड भेल्भेट कपकेक वितरण गरी खुशीयाली आदानप्रदान गरेको थियो।

Share Now

Leave a comment.