काठमाडौँ, २४ माघ । आइतबार साँझ सम्पन्न भएको प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली र नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल बीचको वार्ताले एमसीसी पारित गर्ने सन्दर्भमा सकारात्मक वातावरण बन्दै गएको सरकारले दावी गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी( सम्झौताबारे फेरि छलफल हुने र चाँडै निष्कर्षमा पुर्याइने बताउनुभएको छ ।
उहाँले एमसीसीका बारेमा फैलाइएका अनर्गल प्रचारलाई चिर्न आइतबारको बैठक केही हदसम्म सफल भएको पनि बताउनुभएको छ । उहाँले राजनीतिक सहमति कायम गरेरै एमसीसी पारित हुने दावी पनि गर्नुभएको छ ।
‘छलफल सकारात्मक दिशामा अघि बढेको छ । आगामी दिनमा यी नै विषयहरूमा छलफल हुने सहमतिका साथ बैठक सकिएको छ,’ एमसीसीका हस्ताक्षरकारी मन्त्री कार्कीले भन्नुभयो, ‘सत्ता पक्ष र प्रतिपक्षका बीच धेरै विषयमा गम्भीरताका साथ छलफल भएको छ । संसदलाई प्रभावकारी बनाउने विषयमा होस् वा चाहे एमसीसीलाई संसदबाट छलफल गरेर निष्कर्षमा पुर्याउने विषयमा होस्, आगामी दिनमा हुने छलफलले निष्कर्षमा पुर्याउनेछ भन्ने मलाई लाग्छ ।’
तीन ठूला दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्न सहयोगका लागि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग आग्रह गर्नुभएको थियो । उहाँले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताद्धारा निर्वाचित प्रतिनिधिसभाको बैठक सुचारु गराएर राष्ट्रिय महत्वका विषयमा छलफल गरी निष्कर्षमा पुर्याउन संसद अवरोध अन्त्य गर्न एमाले अध्यक्ष ओलीसमक्ष पनि अनुरोध गर्नुभएको थियो ।
बैठकमा एमाले अध्यक्ष ओलीले एमसीसी पारित गर्ने सम्बन्धमा पहिले सत्तामा रहेका दलहरुको साझा धारणा आउनु पर्नेमा जोड दिनुभएकोे थियो । ‘हामीले सत्तापक्षले एमसीसीको पक्षमा आफ्नो दृष्टिकोण राख्न उचित हुन्छ, प्रधानमन्त्री प्रणालीमा सत्तापक्षबाटै राष्ट्रिय मुद्दामा अलग–अलग राय प्रकट गर्ने कुरा संसदीय र लोकतन्त्रका लागि उपयुक्त होइन, यो विषयमा सत्तापक्ष स्पष्ट होस् भन्ने राय प्रकट गर्यौं,’ बैठकमा सहभागी हुनुभएका एमाले महासचिव शंंकर पोखरेलले भन्नुभएको छ ।
बैठकमा माओवादी अध्यक्ष दाहालले प्रतिपक्षको समेत सहयोगमा एमसीसीलाई चुनावसम्म सार्न सकिने विकल्पमा जान आग्रह गर्नुभयो । उहाँले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् र प्रतिपक्षसहित एमसीसीलाई चुनावपछि मात्रै अगाडि बढाउनका लागि सबैले पत्र पठाऊँ भन्ने आग्रह गर्नुभएको थियो ।
तर निर्वाचन पछि पनि संसदमा अहिलेकै दलहरुको प्रतिनिधित्व हुने भएकोले नेताहरुले निर्णय गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको थियो ।
माओवादी अध्यक्ष प्रचण्डको चुनाव पछि यसबारे निर्णय गर्ने कुरामा राजनीतिक दाउपेच देखिन्छ । उहाँ यसको नाममा स्थानीय निर्वाचन देखि नै कांग्रेस र एमालेसंग बार्गेनिड. गर्न चाहानुहुन्छ । संगठानिक अवस्था कमजोर र पार्टी नीति तथा कार्यक्रम जनतामुखी नभएकोले तीनै तहको निर्वाचनमा माओवादीको अवस्था २०७४ को भन्दा खराब हुने स्थिति छ । २०७४ मा पनि नेपाली कांग्रेससंग सत्ता गठबन्धन र सरकारमा रहदा रहदै एमालेले गठबन्धनमा बढी सिट दिएकोले माओवादीले बृहत् बाम गठबन्धन गरेको थियो । माओवादीबाट एकपटक धोका पाइसकेको हुनाले निर्वाचनमा माओवादीसंग गठबन्धन गर्न हुँदैन भन्ने मत कांग्रेसभित्र प्रवल छ ।
यता आइतबारै न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर सरकारले एमसीसी अगाडि बढाउन चाहेकोले संसद सुचारु गरी प्रस्ताव पेश गर्ने वातावरण मिलाउन अनुरोध गर्नुभएको छ ।
एमसीसीलाई सारेर राजनीतिक लाभ लिन प्रयासरत नेकपा माओवादी केन्द्र प्रचण्डले फागुन १६ सम्म एमसीसी पारित गर्ने प्रतिबद्धतासहित एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि नैतिक दबाबमा परेको छ । यो सहित महत्वपूर्ण विषयमा निर्णय लिन माओवादीको केन्द्रीय समितिको बैठक माघ २७ मा बस्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा भएको राष्ट्रसंघीय जलवायु सम्मेलन कोप २६ मा सहभागी भएर कात्तिक १८ मा स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आफू र दाहालले एमसीसी अनुमोदन गराउँछौं भनेर अमेरिकालाई पत्र पठाएको रहस्योद्घाटन गर्नुभएको थियो । देउवाको खुलासालगत्तै कात्तिक १९ मा दाहालले आफ्नो निवासमा देउसीभैलो खेल्न पुगेका कलाकारको टोलीलाई सम्बोधन गर्दै सहमतिमा एमसीसी अनुमोदनका लागि अमेरिकासँग समय मागेको बताउनुभएको थियो । उहाँले राष्ट्रिय सहमति बनाएर पारित गर्न सो पत्र पठाएको बताउनुभएको थियो ।
एमसीसीबारे गठबन्धनमा साझा धारणा बनाउन झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्र कार्की रहेको कार्यदल पनि बनेको थियो । कार्यदलले आफ्नो प्रतिवेदन भने दिएको छैन् ।


















