ओटावा(क्यानडा), २४ माघ(बीबीसी) । क्यानडाको राजधानी सहरका मेयरले एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले गरेको प्रदर्शन जारी रहँदा त्यहाँ आपत्काल घोषणा गर्नुभएको छ।
ओटावाका मेयर जीम वाट्सनले ‘सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको’ बताउनुभएको छ।
‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो।
ओटावाका मेयरको भनाई
क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा ‘असंवेदनशील व्यवहार’ गरेको बताउनुभयो।
प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई ‘पार्टीजस्तो गरेको’ आरोप लगाउनुभयो।
उहाँले आफूहरू प्रदर्शनकारीभन्दा कम भइरहँदा ‘लडाई हारिरहेको’ बताउनुभयो।
क्यानडा

वाट्सनले भन्नुभयो, ‘यो समाधान हुनुपर्छ। हामीले हाम्रो शहर पुरानै स्वरूपमा ल्याउनुपर्छ।’
एउटा विज्ञप्तिमा उहाँले ती प्रदर्शनहरूले शहरका बासिन्दाको सुरक्षामा असर पुर्याएको बताएका छन्।
अवरोध
ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन्।
मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन्।
तर प्रहरीले कानुन कार्यान्वयनका उपाय बढाउने क्रममा प्रदर्शनकारीहरूलाई सघाइरहेकालाई गिरफ्तार गर्न सक्ने जनाएको छ।

आपत्कालीन अवस्थाले अग्रमोर्चा र आपत्कालीन सेवाका कर्मचारीहरूलाई आवश्यक सामान आपूर्तिका लागि सहरलाई थप शक्तिहरू प्रदान गर्नेछ।
चिन्ता
प्राप्त उजुरीमा ट्राफिक व्यवस्था अस्तव्यस्त पार्नेदेखि हिंसा र दुर्व्यवहारका चिन्तासम्म छन्।
प्रहरीले उक्त प्रदर्शनले अतिवादी मतलाई आकर्षित गरिराखेकोमा आफूहरू चिन्तित बनेको बताएको छ।
क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्।
सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन्।


















